क्षेत्रीय प्रशासक अब प्रमुख सचिव

काठमाडौँ, ५ माघ – सरकारले ५ वटै क्षेत्रीय प्रशासकहरूलाई सम्बन्धित प्रदेशका प्रमुख सचिवका रूपमा खटाउने भएको छ । केन्द्रमा मुख्य सचिव जस्तै प्रदेशमा उनीहरूले मुख्यमन्त्रीको कार्यालयअन्तर्गत कर्मचारी प्रशासनको नेतृत्व गर्नेछन् । तर, उनीहरूको दरबन्दी विशिष्ट श्रेणी सचिव सरहको नै हुनेछ । प्रदेश प्रमुखको कार्यालयमा भने सहसचिवको नेतृत्वमा २५ कर्मचारी खटाइने भएको छ हाल ५ विकास क्षेत्रमा रहेका क्षेत्रीय प्रशासन कार्यालयबाटै कर्मचारीको अस्थायी संरचना तय गरिएको छ । क्षेत्रीय प्रशासन कार्यालय धनकुटामा राजेश्वरमान सिंह, हेटौंडामा रेश्मीराज पाण्डे, पोखरामा लक्ष्मण अर्याल, सुर्खेतमा सुरेश प्रधान र दिपायलमा लक्ष्मीराज पौडेल प्रमुखका रूपमा कार्यरत छन् । उनीहरू नै सम्बन्धित प्रदेशका प्रमुख सचिवका रूपमा खटिनेछन् । क्षेत्रीय प्रशासन कार्यालय नरहेका बुटवल र जनकपुरमा भने वरिष्ठ सहसचिव २ जना कर्मचारी बढुवा गरी प्रमुख बनाउने गृहकार्य भइरहेको छ प्रदेश प्रमुखको कार्यालयमा भने सहसचिवले कर्मचारीको नेतृत्व गर्नेछन् । उनीहरूको पदलाई प्रदेश सचिव भनिनेछ । ‘प्रदेश प्रमुख र मुख्यमन्त्री कार्यालय सञ्चालन सहजै हुने गरी हामीले गृहकार्य गरेका छौं,’ प्रधानमन्त्री एवं मन्त्रिपरिषद् कार्यालयका सचिव खगराज बरालले बिहीबार भने सरकारले ७ प्रदेशमा बुधबार नियुक्त गरेका प्रदेश प्रमुखहरूले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्भवत: शुक्रबार शपथ लिनेछन् । त्यसपछि अर्को साताबाट उनीहरू सम्बन्धित प्रदेशमा गई जिम्मेवारी सम्हाल्नेछन्, कान्तिपुरमा खबर छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?