उपभोक्ता समिति बिना खानेपानीका पूर्वाधारको विकास सम्भव छैन : मन्त्री मगर

काठमाडौं । खानेपानी मन्त्री बिना मगरले खानेपानी उपभोक्ता समिति बिना खानेपानीका पूर्वाधारको विकास सम्भव नभएको बताउनुभएको छ ।

राष्ट्रिय साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपालको पाँचौ बार्षिक साधारण सभालाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै मन्त्री मगरले खानेपानी आयोजना सञ्चालनका लागि उपभोक्ताहरुको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको हो ।

उहाँले पछिल्लो समय उत्पन्न भएका खानेपानी उपभोक्ता समितिहरुका समस्या समाधानका लागि सरकार गम्भिर रहेको समेत बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका सचिव रामचन्द्र उपाध्यायले उपभोक्ता समितिले निर्माण गरेका करिब ९० वटा सहरी आयोजनाहरु नमुना आयोजनाको रुपमा स्थापित भएको बताउँदै उपभोक्ताहरुको विश्वास बढेको बताउनुभयो ।

उहाँले आयकर, भ्याट लगायतका विषय र विद्युत महसुलमा सरकारले सिचाईं सरहलाई दिने सहुलियत नदिदा परियोजना सञ्चालनमा समस्या आउने गरेको गुनासो गर्नुभयो ।

कार्यक्रममा खानेपानी मन्त्रालयका सचिव माधव बेल्बासेले आयकर तथा भ्याट लगतयका समस्या समाधानका लागि मन्त्रालयले अर्थमन्त्रालयसँग निरन्तर छलफल गरिरहेको बताउनुभयो । उहाँले उपभोक्ता समितिहरुलाई सेवामुलक संस्थाको रुपमा आयकर र भ्याटको व्यवस्था गर्न मन्त्रालयले पहल गरेको बताउनुभयो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद खगराज अधिकारीले खानेपानी विस्तारका लागि सडक भत्काउने तर नबनाउने प्रवृति रहेकाले त्यसमा सचेत रहन आग्रह गर्नुभयो ।

त्यस्तै उहाँले ग्रामिण क्षेत्रका खानेपानी आयोजनाको लिफ्टिङका लागि सरकारले विद्युत महसुलमा छुट दिनुपर्नेमा जोड दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?