घोराहीमा ‘एक वडा, एक उत्पादन’

काठमाडौं । घोराही उपमहानगरपालिकाको कृषि शाखाले नगर क्षेत्रका वडालाई ‘एक वडा, एक उत्पादन’को कार्यक्रम शुरु गरेको छ । कृषि शाखाले दिएको जानकारीअनुसार वडाभित्र छरिएर गरिएका उत्पादनलाई एकीकृत गर्नका लागि एक वडा एक उत्पादनको कार्यक्रम शुरु गरिएको हो ।

चालु आर्थिक वर्षदेखि शुरु गरिएको उक्त कार्यक्रममा नगरका १९ वडामध्ये पहिलो चरणमा नौ वडामात्रै सहभागी भएका छन् ।

कृषि शाखाका प्रमुख चोपनारायण खनालले एक वडा एक कार्यक्रमका लागि सबै वडामा मागका लागि पत्राचार गरिए पनि वडा नं ९ ले मात्रै कार्यक्रम माग गरेपछि सोही अनुसार पहिलो चरणको बजेट विनियोजन गरिएको जानकारी दिनुभयो । आगामी वर्ष थप अन्य वडालाई पनि समेटेर कार्यक्रम शुरु गरिने उहाँले बताउनुभयो ।

प्रमुख खनालका अनुसार चालु आर्थिक वर्षमा वडा नं १ मा पिँडालु खेती, वडा नं ३ मा आलु, वडा नं ४ मा प्याज, वडा नं ५ मा टमाटर, वडा नं ६ मा आलु, वडा नं १० मा आलु, वडा नं १३ मा पनि आलु, वडा नं १७ मा सिमी र वडा नं १९ मा कागती खेतीका लागि छनोट गरिएको छ ।

त्यसका लागि शाखाले प्रतिवडा रु ९५ हजारदेखि रु दुई लाखसम्म बीउ वितरणका लागि बजेट विनियोजन गरेको छ ।

चालु आर्थिक वर्षमा उपमहानगरले नगर क्षेत्रको कृषि विकासका लागि रु ९७ लाख विनियोजन गरेको छ । सोमा उपमहानगरको कृषि शाखाले चालु आवमा जिल्लाका विभिन्न कृषि सहकारीलाई खनजोतका लागि यान्त्रिक सामग्री, गहुँ, तोरी, मकैको बीउ वितरणको काम गरेको छ ।

उपमहानगरका अनुसार चालु आवमा १८ पावर ट्र्याक्टर वितरण गरेको छ । यस्तै गहुँको बीउ, तोरी, मकै पनि ५० प्रतिशत अनुदानमा वितरण गरेको शाखाका कृषि सेवा अधिकृत दीपक बुढाथोकी बताउनुभयो ।

उहाँका अनुसार शाखाले विपन्न परिवारलाई भकारो सुधार, साना सिँचाइ, सहकारी सिँचाइअन्तर्गत पम्पसेट वितरण पनि गरिरहेको छ । जिल्लाको कृषि शाखाबाट हुने सबै प्रकारका सेवा तथा कार्यक्रमका बारेमा शाखाले नियमति रुपमा सञ्चारमाध्यम, वडा कार्यालय र उपमहानगरपालिकाको सूचना बोर्डमा टाँसेर जानकारी दिने गरेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?