सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीको संख्या कम भयोः गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले सीमा सुरक्षा गर्नका लागि सशस्त्र प्रहरीको संख्या प्रयाप्त नभएको बताउनुभएको छ ।

प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबारको बैठकमा गृहमन्त्री थापाले ३७ हजारको संख्यामा रहेका सशस्त्र प्रहरीले सीमा सुरक्षा गरिरहेको जनाउँदै उक्त संख्या प्रयाप्त नभएको बताउनुभएको हो । उहाँले भारतले प्रत्येक एक किलोमिटरमा रहेर सीमा सुरक्षा दिएको आवस्थामा नेपालले २५/३० किलोमिटरको फरकमा रहेर सीमा सुरक्षा गर्नुपरेको बताउनुभएको हो ।

अहिले १ हजार ८०० स्क्वार किलोमिटर सीमा सुरक्षा गर्न कुल १ सय २ सीमा सुरक्षा पोष्ट मात्र रहेको बताउँदै त्यसलाई सरकारले विस्तार गर्न लागेको समेत बताउनुभयो । उहाँले अहिले सशस्त्र प्रहरीको संख्या बढाउन गृह मन्त्रालयले प्रस्ताव गरेको समेत जानकारी दिनुभयो ।

पछिल्लो समय लिम्पियाधुरा, कालापानीको कुल ३ सय ७२ किलोमिटर क्षेत्र र लिपुलेक लगायतका अन्य क्षेत्रमा गरी भारतले ४ सय किलोमिटर भन्दा बढी क्षेत्र अतिक्रमण गरेको गृह मन्त्री थापाले बताउनुभयो ।

उहाँले कालापानी क्षेत्रमा १९६२ को भारत र चीनबीचको युद्ध पछि मात्र अतिक्रमण भएको र ऐतिहासिक नक्सा, संधि सम्झौताहरुबाट उक्त भूमि नेपालकै भएको पुष्टि हुने भएकाले भारत त्यहाँबाट हटनुपर्ने बताउनुभयो ।

उहाँले १९६२ को चीनसँगको युद्धमा भारतले नेपालको भूमिमा १८ ठाउँमा सेना राखेको बताउँदै १७ ठाउँबाट हटाएर एक ठाउँ कालापानीबाट नहटाएको र पछि त्यहि बलमा भारतले उक्त क्षेत्र अतिक्रमण गरेको बताउनुभयो ।

उहाँले उक्त भूभाग नेपालकै हो भन्नेमा सरकार स्पस्ट रहेको र फेरी भारतबाट फिर्ता लिन सरकारले पहल गरिरहेको बताउनुभयो । उहाँले अहिले भारतीय पक्षले उपस्थिति बढाएको र हाम्रो भूमि महाकालि नदिको उद्गमस्थलसम्म पुग्न भारतीय भूमिको प्रयोग गर्नुपर्ने हुँदा सुरक्षाका लागि प्राविधिक कठिनाई उत्पन्न भएको समेत उहाँले बताउनुभयो । दार्चुला क्षेत्रको सीमा सुरक्षाका लागि सरकारले नयाँ योजना बनाएर अगाडी बढ्न लागेकोसमेत उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?