घर निर्माण गर्दै हुनुहुन्छ ? राम्रो सिमेन्ट कसरी चिन्ने ? विज्ञको यस्तो सुझाव

काठमाडौं –  देशमा हालसम्म सिमेन्ट उद्योगको संख्या ६१ पुगेको छ । सिमेन्ट बनाउने क्लिंकर आफैँ उत्पादन गर्ने उद्यागको संख्या २१ छ । अन्य ३ वटा उद्योग खुल्ने तयारीमा छन् । अहिलेसम्मको विशाल, चिनिया लगानीको होंङ्शी सिमेन्ट बजारमा आउन थालेको र धेरै उद्योगबीच प्रतिष्पर्धा चलेको कारण सिमेन्टको मूल्य क्रमशः नियन्त्रणमा आउन थालेको छ । ईंटा उद्योगको संख्या १ हजार २४६ पुगेको छ । तर उपभोक्ताले राम्रो सिमेन्ट चिन्ने उपाय थाहा पाएका छैनन् ।

चार भाग चुनढुङ्गा र एक भाग माटो मिसाएर सिमेन्ट बनाइन्छ । यी दुईको मिश्रणलाई  तेहृ सयदेखि पन्ध्रसय सेल्सियससम्मको तापक्रममा भट्टीभित्र पोल्ने काम गरिन्छ । यो तापक्रममा ती वस्तुहरू गलेर गोलो दानादार जस्तो क्लिन्कर बन्दछ । क्लिन्कर सेलाएपछि दुई–तीन प्रतिशत जिप्सम मिलाएर पाउडरजस्तै मसिनो हुनेगरी मिलमा पिसेपछि सिमेन्ट तयार हुन्छ । जिप्सम नमिसाए सिमेन्ट पानीसँग मिल्नासाथ तुरुन्तै कडा भएर जम्दछ, जसले गर्दा निर्माण कार्यमा बालुवा र गिट्टीसँग घोल्ने या मिसाउने समय पुग्दैन ।
सर्वप्रथम सन् १८२४ मा बेलायतका डकर्मी जोसेफ अस्पडिनले सिमेन्टको आविष्कार गरेका हुन् । आपूmले आविष्कार गरेको सिमेन्टको रंग र बेलायतको पोर्टल्यान्ड भन्ने ठाउँमा प्राकृतिक रुपमा छरिएर रहेका ढुङ्गाको रङ्ग मिल्दोजुल्दो भएकोले उनले सिमेन्टको अगाडि पोर्टल्याण्ड भन्ने शब्द राखेका हुन् ।

हाम्रो देशको बजारमा छ्यासछ्यास्ती पाइने पोर्टल्याण्ड सिमेन्ट त्रिचालिस ग्रेड र त्रिपन्न ग्रेडका हुन् । त्रिचालिस ग्रेडको मतलब अठ्ठाइस दिनसम्म जमेको सिमेन्टलाई एक वर्गसेन्टिमिटर क्षेत्रमा चारसय किलोग्राम भारले थिचेमा मात्र फुट्छ भन्ने जनाउँछ । यसैगरी एक वर्गसेन्टिमिटर क्षेत्रमा पाँचसय तीस किलोग्राम भारले थिचेमा मात्र फुट्ने सिमेन्टको नाम हो पोर्ट्ल्याण्ड सिमेन्ट त्रिपन्न गे्रड । चलन चल्तीमा त्रिचालिस ग्रेडको सिमेन्ट नै ज्यादा प्रयोगमा ल्याएको देखिन्छ ।

नेपालमा सानासाना सिमेन्ट कारखानाहरू दिन प्रतिदिन च्याउ उम्रेजस्तै गरी देखापरेका छन् । सुरुसुरुमा ज्यादै परिश्रम गरेर नेपाल गुणस्तर चिन्ह पनि प्राप्त गर्न सफल हुन्छन् । तर गुणस्तर चिन्ह लिँदा कारखानाबाट उत्पादन गरेको सिमेन्टजस्तै सँधैभरि उस्तै गुणस्तरको उत्पादन गर्ने काम भने बिलकुलै सजिलो छैन ।

यसको लागि स्वार्थरहित भएर सँधै होसियारीसाथ कडा परिश्रम गर्नु पर्दछ । तर यसको विपरीत उत्पादनकर्ताहरू गुणस्तरीय सिमेन्ट उत्पादन गर्ने कार्यलाई वास्ता नगरी टेलिभिजन र रेडियोबाट नेपाल गुणस्तर चिन्ह पाएको भनेर आफ्नो सिमेन्टको बढाई चढाई आवश्यकताभन्दा बढी गरेर भजन गाउन थाल्दछन् । यही नै प्रवृत्तिले गर्दा सात दिन जमेको सिमेन्टमा एक वर्गसेन्टिमिटर क्षेत्रमा न्यूनतम दुईसय बीस किलोग्राम भारमा फुट्नु पर्नेमा केवल तेइस किलोग्राम भारमा नै सिमेन्ट स्याम्पल चकनाचूर भएको छ । तीन दिनमा न्यूनतम साठी किलोग्राम भारमा फुट्नुपर्नेमा उन्नाइस किलोग्राम भारमा नै फुटेको छ ।

कुनै सिमेन्टमा त सात दिनको परीक्षण नतिजा तीन दिनको भन्दा पनि कम आएको छ । दशौँ हजार टनभन्दा पनि बढी यस्ता सिमेन्ट देशका विभिन्न निर्माण योजनाहरूमा नपुगेका होइनन् तर ल्याबोरेटरीमा परीक्षण गरेपछि सबै सिमेन्ट फिर्ता गरेर उक्त निर्माण योजनाहरूमा पुनः गुणस्तरीय सिमेन्टको आपूर्ति गर्न लगाइएको प्रसङ्ग उदाहरणीय छ ।

ढलान गर्दा ओछ्याइएका फर्मा निकाल्दा छत झरेर झण्डैझण्डै मरेको, सिमेन्टको पिलर वरिपरिको फर्मा निकाल्दा सिमेन्ट गिट्टी सबै घल्र्याम घुर्लुम भएर ढलेको र सिमेन्ट सात दिनसम्म पनि पटक्कै नजमेको जस्ता गुनासो सर्वसाधारणबाट बारम्बार सुनिँदै आउने गर्छ । नक्कली सिमेन्टको बिगबिगीले यो समस्या समाजमा दिनप्रतिदिन बढ्दै गइरहेको हो ।

सिमेन्ट गुणस्तरीय छ कि छैन भनेर पत्ता लगाउन थुप्रै इन्जिनियरिङ् (प्राविधिक) परीक्षणहरू छन्, तर ती सबै सर्वसाधारण मानिसहरूको पहुँचबाट बाहिर छन् । यसैले सर्वसाधारण मानिसहरू जो कसैले पनि विनाखर्च तुरुन्तै गुणस्तरीय सिमेन्ट हो कि होइन भन्ने पत्ता लगाउनको लागि गर्न सकिने केही साधारण परीक्षणका तरिकाहरू यहाँ प्रस्तुत गरिएका छन् ।

(१) सिमेन्टको ब्यागभित्र बीच भागमा हात पसाएर छाम्दा चिसो अनुभव भएमा सिमेन्ट ठीक छ, न्यानो अनुभव भएमा सिमेन्ट गुणस्तरीय छैन भन्ने बुझ्नुपर्दछ ।

(२) हाम्रो बूढीऔँला र चोर औँलाको बीचमा सिमेन्टको धुलो राखेर माड्दा चिप्लो र आनन्दको अनुभव हुन्छ । खस्रो अनुभव भएमा सिमेन्टमा बालुवा या गिट्टी बनाउने क्रसरबाट निस्केको ढुङ्गाको धुलो मिसाएको रहेछ भन्ने बुझ्नु पर्दछ ।

(३) गुणस्तरीय सिमेन्ट पानीमा मिलाएर बूढीऔँला र चोरऔँलाको बीचमा राखेर माड्दा च्याप्प–च्याप्प लाग्ने हुन्छ ।
(४) गुणस्तरीय सिमेन्टलाई बाल्टीनको पानीमा खसाल्यो भने सबै डुब्दछ, पानीको सतहमा कत्ति पनि तैरिएर बस्दैन ।

(५) सिमेन्टलाई हातले छाम्दा गिर्खा भेटियो भने यस्तो सिमेन्टको जम्ने एवं भार थाम्ने शक्ति कम भइसकेको हुन्छ । हावामा आएको ओशबाट गिर्खा बन्न जान्छ । यो पुरानो र धेरै दिनसम्म भण्डार गरिएको सिमेन्टको लक्ष्यण हो । ताजा सिमेन्टमा यस्ता गिर्खा पाईँदैन ।

(६) सिमेन्टमा धेरै माटो या सिल्टको मिसावट गरेको भए यस्तो सिमेन्टलाई पानीमा मिसाएर बनेको लेदोलाई सुँघ्दा ह्वास्स माटोको गन्ध आउँछ ।

(७) झट्ट हेर्दा गुणस्तरीय सिमेन्टको रङ्ग एकनासको हुन्छ ।

(८) तीन मुठ्ठी सफा बालुवा र एक मुठ्ठी सिमेन्टलाई पानीमा बुगुल्टो गरी मुछ्ने । बुगुल्टो गर्न हालेको पानी बालुवा र सिमेन्टमा राम्ररी मिसिएको हुनुपर्दछ । यो मिश्रणलाई विवाहमा खाने कसारजस्तो डल्लो बनाउने र हत्केलामा राखेर आफ्नो बलले भ्याएसम्म मुठ्ठी कस्ने । मुठ्ठी खोलेर थिचिएको सिमेन्ट मोर्टारलाई घाम नलाग्ने स्थान, कोठा या शितल ठाउँमा राख्ने र ठीक चौबिस घन्टापछि हातको नङ्ले बालुवाको कणलाई कोट्याउने वा खुर्किने । गुणस्तरीय सिमेन्ट भए नङले कोट्याउँदा बालुवाको कण उप्केर आउँदैन । यो सर्वसाधारण सबैले गर्नसक्ने अति नै भरपर्दो परीक्षण हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?