डीएसपी चन्दलाई दिइयो कोहलपुर प्रहरीको जिम्मेवारी

काठमाडौं । प्रहरी प्रधान कार्यालयले डीएसपी कुलदिप चन्दलाई कोहलपुर काज सरुवा गरेको छ । कोहलपुलमा विवादित बनेका डीएसपी हेमराज शाही जिल्ला प्रहरी कार्यालय बाँकेमा तानिएपछि उनको ठाउँमा डीएसपी चन्दलाई सरुवा गरीएको हो ।

चन्दले यसअघि महानगरीय प्रहरी परिसर काठमाडौं र नेपाल बङ्गलादेश बैंकले सयुक्त रुपमा प्रदान गर्दै आएको ‘काठमाडौं पुलिस अवार्ड’ मा उत्कृष्ट डिएसपीको पुरस्कारसमेत पाएका छन् । उनी लागुऔषध, हतियारसहित भारतीय नागरिक पक्राउ गरेर चर्चामा आएका डीएसपी हुन् ।

कोहलपुरमा डीएसपी शाही तरुण दलका नेतालाई टेलिफोन धम्की र केही दिनअघि स्कुले विद्यार्थीमाथि दमन गरेर विवादित बनेपछि आइजीपी सचिवालय मातहतको उजुरी शाखामा कार्यरत चन्दलाई त्यहाँ पठाइएको हो । यसै बीच जिल्ला प्रहरी कार्यालय बाँकेमा सरुवा गरीएका डीएसपी शाहीमाथि आन्तरिक छानबिन सुरू भएको छ । शाहीको व्यवहारको चौतर्फी आलोचना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?