उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले १३ औं दक्षिण एशियाली खेलकूद (साग) भव्य रुपमा सम्पन्न भएकोमा खुसी व्यक्त गर्नुहुँदै नेपालको तर्फबाट पदक जित्ने खेलाडीहरुलाई बधाई दिनु भएको छ ।
उपराष्ट्रपतिको बधाई सन्देश
‘मंसिर १५ गते दशरथ रंगशालामा भव्य समारोहबीच औपचारिक समुद्घाटन भएको १३ औं दक्षिण एशियाली खेलकूद (साग) आज पुरुष फुटबलमा भुटानलाई पराजित गर्दै नेपालले स्वर्ण पदक जितेसँगै समापन भएको छ । दक्षिण एशियाको सबैभन्दा ठूलो खेलकूद प्रतियोगिता सागको १३ औं संस्करण भव्य रुपमा सम्पन्न भएकोमा अत्यन्त हर्षित छु ।
दक्षिण एशिया र विश्व जगतमा नेपालको शीर उचो हुने गरी सागको १३ औं संस्करण ऐतिहासिक रुपमा सम्पन्न गरेकोमा नेपाल सरकार, युवा तथा खेलकूद मन्त्रालय, राष्ट्रिय खेलकूद परिषद्, सुरक्षा निकाय, कर्मचारी, खेलकूद पदाधिकारी र सम्बद्ध सबैमा धन्यवाद ज्ञापन गर्दछु ।
१३ औं सागमा नेपालले ५१ स्वर्ण पदकसहित किर्तिमानी सफलता हासिल गरेको छ । ५१ स्वर्ण, ५९ रजत र ९२ कास्य गरी कूल दुई सय २ पदक जितेर नेपाल राष्ट्रको शीर उचो पार्नुहुने खेलाडी, प्रशिक्षक, व्यवस्थापक र खेल सम्बद्ध पदाधिकारीहरुमा बधाईसहित धन्यवाद व्यक्त गर्दछु । नेपालको तर्फबाट छनौट भएर देशको झण्डा फहराउँदै प्रतियोगितामा भाग लिने सम्पूर्ण खेलाडीहरुमा पनि बधाईसहित धन्यवाद व्यक्त गर्दछु ।
१३ औं सागको समापन १४ औँ सागको तयारी पनि हो । पाकिस्तानमा हुने सागको आगामी संस्करणमा नयाँ किर्तिमानी सफलता हासिल गर्ने लक्ष्यका साथ नेपाल सरकार र सम्बन्धित निकाय तयारीमा जुट्ने अपेक्षा लिएको छु । सागमा पदक बिजेता खेलाडीहरुलाई सरकारले उचित सम्मान गर्ने विश्वास समेत गरेको छु ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?












प्रतिक्रिया