नेपालको आर्थिक अवस्थमा सुधार भइरहेको छ : मुख्यमन्त्री राई

काठमाडौं । मानव विकास सूचाङ्कमा नेपाल १४७ औँ स्थानमा रहेको छ । संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडीपी)ले आज यहाँ सार्वजनिक गरेको विश्व मानव विकास प्रतिवेदन–२०१९ मा १ सय ८९ देशमध्ये नेपाल मानव विकास सूचाङ्कमा १४७ औँ स्थानमा रहेको हो । यो अफ्रिकी मुलुक केन्याको समान हो । दक्षिण एशियाली देशमा नेपाल र अफगानिस्तान सबैभन्दा पुछारमा परेका छन् ।

प्रतिवेदनअनुसार सन् १९९० देखि २०१८ सम्म नेपालको मानव विकास सूचाङ्क औषतमा शून्य दशमलव ५२ प्रतिशतले बढेको छ । त्यस्तै जन्मदरको औषत आयु १६ दशमलव एक, शिक्षाको मध्यम वर्ष २ दशमलव ८ र विद्यालय शिक्षाको अपेक्षित वर्ष ४ दशमलव ७ वर्षले वृद्धि भएको छ । प्रतिवेदन अनुसार दक्षिण एशियाली भेगको मानव विकास निकै उच्च दरले बढेको देखिएको छ ।

प्रदेश नं.१ का मुख्यमन्त्री शेरधन राईले सार्वजनिक गरेको प्रतिवेदनले एशिया प्रशान्त क्षेत्रमा मानव विकासमा उल्लेख्य सुधार हुदै गएको देखाएको छ । प्रतिवेदनले नयाँ प्रकारका असमानता, प्रविधि, शिक्षा, जलवायुजस्ता समस्याले दक्षिण एशिया प्रभावित हुने औल्याएको छ । प्रतिवेदनले सामाजिक बहिष्करण, लैंगिक विभेदलगायतका समस्या प्रगतिको बाधक भएको निष्कर्ष पनि निकालेको छ ।

सो अवसरमा मुख्यमन्त्री राईले नेपालमा आर्थिक अवस्था सुधार भइरहेको बताउँदै मानव विकास सूचाङ्कमा सुधारोन्मुख हुनु सुखद पक्ष हो भन्नुभयो । प्रदेश सरकार गरीबी निवारण, रोजगार सिर्जना र पूर्वाधार विकासमा उच्च प्राथमिकता दिएको बताउँदै उहाँले मुख्यमन्त्री युवा उद्यमशीलता कार्यक्रमका लागि प्रदेश सरकारले रु २० करोड वजेट विनियोजन गरेको जानकारी दिनुभयो ।

प्रदेश सरकार शैक्षिक र स्वास्थ्यको गुणस्तर सुधारमा पनि कार्य गरिरहेको उल्लेख गर्दै प्रदेश सरकारले सूचना र प्रविधिको उच्चतम प्रयोग गरी सरकारको काम कारवाहीलाई पारदर्शी र जवाफदेहिता बनाउनेतर्फ ध्यान दिएको छ भन्नुभयो । सरकार सबै किसिमको असमानतालाई हटाई समग्र क्षेत्रमा समानता ल्याउने गरी काम गरिरहेको उहाँले बताउनुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?