शशी नेपालको प्रस्तुतिमा सरकारलाई खबरदारी (भिडियो)

काठमाडौँ । संचारकर्मी शशी नेपालको प्रस्तुतिमा देशमा भइरहेका बेथिती विसंगतिमाथि प्रहार गर्दै तयार पारिएको लोक दोहारी गीत सार्वजनिक भएको छ ।

प्राइम टाइम्स टेलिभिजनमा समाचार बाचिकाको रुपमा कार्यरत नेपालले गीतकार अविरल विसी र संगीतकार खेम सेन्चुरीसँगको सहकार्यमा राष्ट्रियता झल्किने गीत तयार पारेकी हुन् । माया, प्रेम, विछोड, सामाजिक परिवेश आदिलाई समावेश गरेर तयार पारिने गरेको सन्दर्भमा आफूले पछिल्लो समय देश र जनतालाई परेको मर्का समावेश गरेको नेपालले बताइन् ।

अन्य कलाकारहरुकोसमेत आवाज समेटिएको गीतमा नेपालको सीमा मिचिएको विषय, एनसेललाई कर छुट दिइएको विषय, निर्मला पन्त प्रकरण, वाइडबडी काण्ड, वालुवाटारको जग्गा काण्ड, नेताहरुको गैरजिम्मेवारीपन र विलासी जीवनमाथि कटाक्ष गर्दै सशक्त ढंगले उठान गरिएको छ ।

भ्रष्टाचार, कुशासन र दण्डहीनताको अन्त्य गर्नका लागि प्रेरणा मिलोस् भन्ने उद्धेश्यले गीत तयार पारिएको प्रस्तुतकर्ता नेपालले बताइन् ।

उक्त गीत व्यवसायिक प्रयोजनका लागि नभै सन्देश र चेतना फैलाउनका लागि तयार पारिएको नेपालले बताइन् । विसीले लेखेका शब्द यथार्थपरक र देशका लागि थोरै भए पनि योगदान दिने खालका भएकाले गीतमा लगानी गर्न आफू तयार भएको नेपालको भनाई छ ।

शशी नेपालको साथमा गीतकार अविरल विसीसँगै सम्झना भण्डारी, मेक्सम खाती, नरेश खाती, भागिरथ चलाउने, विक्रम परियार, विजय सुनाम र जानकी तारामी मगरको स्वर रहेको छ । साथमा सीमा सारु र सरु आले मगरले पनि स्वरमा साथ दिएका छन् । भिडियोको निर्देशन विनोद भण्डारीले गरेका हुन् ।

सेन्चुरीको लय र संगीतमा सागर विरहीले एरेन्ज गरेका हुन् । माल श्री स्टुडियोमा रेकर्ड गरिएको गीतको अडियो मिक्सिङ खड्क बाजुरालीले गरेका हुन् । विरेन्द भट्टको छायाङ्कनलाई विकास ज्ञवालीले सम्पादन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?