आज मंगलबार: गणेश भगवानबाट यी ६ कुरा सिके जीवन कायापलट हुन्छ !

काठमाडौं – आज मंगलबार । हिन्दु धर्मावलम्बीहरुले हप्ताको सातै बारलाई विभिन्न देवी देवताको बारको रुपमा लिन्छन् र सोहि बारमा भगवानको प्रार्थना गर्छन् । सोहि अनुरुप आज मंगबारको दिन कार्यसिद्धिको लागि गणेश भगवानको पुजाआजा गरिन्छ । भगवान गणेशको पुजा आराधना नगरी कुनै कार्य गर्दा पनि सफल हुँदैन भन्ने धार्मिक मान्यता छ । गणेशका अतिरीक्त यस दिन कालीमाता, दुर्गा माता र हनुमानको पनि पुजा आराधना गरिन्छ ।  भगवान गणेशलाई सिद्धिविनायक भनेर पनि पुकारीन्छ । मंगलबार गणेश मन्दिरहरुमा भिड लाग्छ । भनिन्छ नि, कुनैपनि नयाँ काम थालनी गर्दा भगवान गणेशको पूजा अर्चनाबाट थाल्नुपर्छ ।

हात्तिको जस्तो शिर, मानिसको जस्तो बडेमानको भूडी, हात्तिको जस्तो लामो मोटो नाक, लामा लामा कान भएका गणेशको यी संरचनाबारे विभिन्न किस्साहरु जेडिएको पाईन्छ ।

1.भगवान गणेशको हात्तिको जस्तो शिर हुनुको अर्थ
भगवान गणेशको शिर हात्तीको जस्तै छ। त्यसैले कुनैपनि काम गर्दा उच्च शिर लिएर अर्थात् जसरी हात्तिलाई संसारको सबैभन्दा ठूलो थलचर प्राणिको रूपमा लिइन्छ। त्यसरी नै मान्छेले आफुले समाजमा शिर झुकाउनु नपरोस् भन्ने प्रार्थना गर्ने गर्छन् । विज्ञान भन्छ, हात्ती संसारको सबैभन्दा ठूलो थलचर प्राणि भएतापनि यसको आँखा तुलनात्मक रुपमा सानो हुने हुँदा अरु सबै चिजहरू आफु भन्दा ठूलो देख्छ । तसर्थ गणेश भगवानको आकृतिमा देखिएको हात्तीको शिरबाट यो सिक्नु कि संसारमा भएका हरेक जीवलाई आफु भन्दा ठूलो हो भन्ने भावना राख्नु पर्छ । अनिमात्रै सफलता प्राप्त हुन्छ ।

2. भगवान गणेशको कानको अर्थ
पक्कै पनि तपाईले याद गर्नुभएको होला भगवान गणेशका कानहरू ठुला छन्। यसको अर्थ हुन्छ, मानिसले कुनै पनि कामको थालनी गर्दा सबैको कुरा सुन्नु र बुझ्नु पर्छ। हाम्रा दुई कानको सार पनि त्यहि नै हो । सबैको कुराहरू ध्यान दिएर सुन्ने मानिस अन्य मानिस भन्दा बुद्धिमत्ता हुन्छ । आफ्नो मनमौजी गर्ने मान्छे कहिल्यै पनि सफल हुन सक्दैन। गणेश भगवान्को कान ठूलो हुनुको आफ्नो बारेमा नराम्रो कुरा सुन्ने हिम्मत जुटाउनुपर्छ । त्यसैले हामीले कुनै पनि कामको सुरु गर्दा भगवान श्री गणेशका ठुला कानहरूलाई स्मरण गर्नु राम्रो हुन्छ भन्ने अर्थ शास्त्रहरुमा छ ।

3. नाक लामो हुनुको अर्थ 
लमो नाक भएको मानिसलाई कस्तो गणेश जस्तो भन्ने गरीन्छ नि । पक्कै पनि त्यसको अर्थ छ । भगवान गणेशको नाक लामो हुनुको अर्थ कुनैपनि मान्छेले काम अथवा कार्यथालनी गर्दा आफ्नो लाज ९इज्जत० बचाएर गर्नुपर्ने हुन्छ। समाजमा प्रचलित उखान छ कि फलानाले नाक काट्यो । यसर्थ समाजमा इज्जत बचाउने काम म बाट होओस् भनेर गणेश भगवान्को लामो नाकलाई स्मरण गरी दृढ भएर सकारात्मक सोँचका साथ कार्य थालनी गर्दा अवश्य पनि कार्यसिद्धि हुन्छ ।

4.पेट ठूलो हुनुको अर्थ :
भगवान गणेशको पेट ठूलो छ। किन होला अनुमान गर्नुहोस् त । यसको अर्थ हो कुनै पनि कामको थालनी गर्दा सजिलो छैन । मानिसले गरेको रिस, राग, द्धेष, ईष्र्या, भए नभएका कुराहरू, राम्रा नराम्रा कुरा, खुट्टा तान्ने, डाहगर्ने, क्रिया प्रतिक्रिया सुन्नुपर्छ । ति कुरालाई मनमै दबाएर पैतालामूनि टेकेर पचाउनु पर्नेहुन्छ। राम्रा कुराहरूलाई मनभित्र केन्द्रित गर्न सक्नुपर्छ । मन नाङ्लोजस्तो बनाउनुपर्छ । झगडा गर्नतिर लागियो भने त काममा बाधा आईहाल्छ नि ।

5. चारवटा हातहरू हुनुको अर्थ :
पक्कै याद गर्नुभएको छ, भगवान श्री गणेशका चार वटा हातहरू छन्। तिनमा बन्चरो, लड्डु, वर मुद्रा र फूल छन्। यसको अर्थ हुन्छ, दया, दण्ड, कोमलता र मिठास । कुनै पनि कामको थालनी गर्दा यी चार कुरालाई अस्त्र बनाएर कार्य थालनी गर्दा निकै उत्तम हुन्छ । काममा बाधा व्यवधान आउँदैन ।

6. भगवान गणेशले वाहन मुसो रोज्नुको कारण यस्तो
सम्झनुहोस् त हिरा कत्रो हुन्छ अनि आँखाको नानी ? पक्कैपनि बहुमुल्य कुराहरुको आकार सानो हुन्छ । मुसो सानो हुन्छ । तर बहुतै चलाख । मुसाले समुन्द्र पारीवाट अन्नहरूको बिउ ल्याएर प्राणीहरुको ज्यान बचाएको हो भन्ने धार्मिक मन्थन पाईन्छ । अक्सर मान्छेहरु सानो कुराहरुलाई आनाकानी गर्छन् । तर हरेक कुराको आकार हेरेर त्यसको बारेमा आँकलन गर्नु गलत हुन्छ । तसर्थ हामीहरूले कुनै पनि कामको थालनी गर्दा भगवान गणेशबाट यो सिक्नुपर्छ चलाख र बुद्धिमान अनि सल्लाह सुझावका लागि उपयुक्त पात्र छान्नुपर्छ । न कि उसको आकार । भनिन्छ, असल शिक्षा बालकबाट लिनुपर्छ ।

गणेश भगवानको यी विभिन्न विशेषता तपाईले आफ्नो जीवनमा लागू गर्ने प्रयास गर्नुभयो भने पक्कैपनि तपाईको जीवन सुखी खुसी र सफल हुनेछ । #शुभ_दिन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?