नेकपाको सचिवालय बैठक : के भयो निर्णय ?

काठमाडौं । नेकपाको आज बसेको सचिवालय बैठकले मंसिर २९ र ३० गते काठमाडौंमा स्थायी समिति बैठक बोलाउने निर्णय गरेको छ । स्थायी समितिको बैठक भने झण्डै एक वर्षपछि डाकिएको हो । गत वर्षको पुस महिनायता स्थायी समितिको बैठक बसेको थिएन् ।

स्थायी समिति बैठक बस्नु अघि फेरि २७ गते सचिवालयको बैठक बस्ने निर्णयसमेत भएको छ । पछिल्लो समय नेताहरूले पार्टीभित्र समसामयिक राजनीतिक विषयमा छलफल गर्न स्थायी समिति बोलाउनु पर्ने माग गर्दै आएका थिए।

बैठकले नेता कार्यकर्ताका लागि चार तहको प्रशिक्षण गर्ने निर्णयसमेत गरेको छ । आधारभूत, माध्यमिक, उच्च र विशिष्ट गरी चार तहको पाठ्यक्रम बनाएर आफ्ना प्रशिक्षण दिने निर्णय गरेको हो ।

बैठकले उपनिर्वाचन भएका ठाउँबाट समीक्षा प्रतिवेदन पठाउने समय थप गरेको छ। यसअघि सचिवालय बैठकले मंसिर २२ गतेसम्म समीक्षा रिपोर्ट पठाउन निर्देशन दिएको थियो ।

दिइएको समयमा रिपोर्ट नआएपछि पाँच दिन थप गरिएको छ। बैठकले पाँच दिनभित्र अनिवार्य रूपमा उपनिर्वाचनको रिपोर्ट पेश गर्न निर्देशन दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभएको छ ।

त्यस्तै आजको सचिवालय बैठकमा संगठन विभागले कार्ययोजनासमेत पेश गरेको छ। सचिवालय समितिमार्फत् पार्टी अध्यक्षका लागि उक्त कार्ययोजना पेश गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?