संघीयता एकातिर, दलहरू सडकतिर

काठमाडौँ, ४ माघ -प्रदेश प्रमुखसँगै अस्थायी मुकाम तोक्ने सरकारी निर्णयको विरोधमा बुधबार साँझसम्मका दलीय रवैयाले संघीयता कार्यान्वयनका सम्भावित चुनौतीको झलक दिएका छन् । नेताकार्यकर्तालाई प्रस्ट थाहा छ- यी केवल अस्थायी केन्द्र हुन् भर्खरै निर्वाचित प्रदेशसभाको दुईतिहाइ बहुसंख्यालाई मात्रै स्थायी प्रदेश मुकाम तोक्ने संवैधानिक अख्तियारी हुनेछ । तैपनि, सबैतिर राजधानी बाँड्ने चुनावी वाचाको बन्धक भएर उनीहरू मतदाता रिझाउने ‘लोकप्रियतावादी’ बाटो समाउन उद्यत छन् । यसो गर्नेमा सत्तारुढ कांग्रेसदेखि आसन्न सत्ता गठबन्धनका लागि खुट्टा उचालिरहेका वामपन्थी पार्टीहरू एकैनास छन् सरकारी निर्णयको विरोधमा वक्तव्य निकाल्नेदेखि फेसबुक ट्विटर रंगाउने माननीयहरूको संख्या ठूलै छ । दाङलाई मुकाम माग्दै आएका माओवादी नेता कृष्णबहादुर महराले सरकारी निर्णयलाई ‘असन्तुलित, अविवेकी, अदूरदर्शी, असंवेदनशील र असक्षम’ भनी वक्तव्य निकालेका छन् । अरू नेताहरूले पनि अस्थायी मुकामलाई प्रतिष्ठाको विषय बनाइरहेको देखिन्छ, जसका कारण नयाँ सरकार नबन्दै सडकमा तनाव विस्तारित भएको भन्दै अन्नपूर्ण पोस्टमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?