पाँचथरमा चिया कृषक पाठशाला

काठमाडौं । पाँचथरमा यसअघि अदुवा, अलैँचीलगायत नगदेवालीलाई व्यावसायिक बनाउन सञ्चालन हुँदै आएको कृषक पाठशाला अब चियामा पनि लागू भएको छ ।

कृषकहरुलाई चिया उत्पादनको सरल तथा आधुनिक प्रविधि सिकाई व्यावसायिक उत्पादन वृद्धि गर्ने उद्देश्यसाथ पाठशाला सञ्चालनमा ल्याइएको हो ।

कृषक पाठशालाले चियामा रहेका रोग किराका समस्या समाधान हुने अपेक्षा गरिएको छ । चिया तथा कफी विकास बोर्ड, चिया विस्तार आयोजना पाँचथरले फाल्गुनन्द गाँउपालिका–४ चिलिङदिनमा रहेको नामसामी चिया तथा कफी उत्पादक सहकारी संस्थामा पाठशाला सञ्चालनमा ल्याएको हो ।

उक्त कार्यालयले चालू आर्थिक वर्षको कार्यक्रमअनुसार कृषकलाई व्यावसायिक बनाउने लक्ष्यसहित ‘असल कृषि अभ्यास चिया कृषक पाठशाला’ शुरुआत गरिएको कार्यालय प्रमुख प्रेमकुमार थिङले जानकारी दिनुभयो ।

निरन्तर प्राङ्गारिक चिया उत्पादन गर्दै आएको यस सहकारीमा आवद्ध कृषकलाई व्यावसायिक बनाउन पाठशाला सञ्चालनका लागि छनौट गरिएको उहाँले बताउनुभयो । कृषक पाठशालामा उक्त सहकारीमा आवद्ध कृषकहरु प्रयोगात्मक सिकाईमा सहभागी हुने गरेका छन् । उक्त सहकारीमा पाठशाला सञ्चालन गर्न कार्यालयले आर्थिक र प्राविधिक सहयोग गरेको छ ।

कृषि प्राविधिक दीपक चौधरीले चियाको नर्सरी गर्ने तरिका, काँटछाँट प्रविधि, रोग किरा नियन्त्रण, पत्ति टिपाइसम्बन्धी तालिमलगायत चिया खेतीका सीप र प्रविधि प्रयोगात्मक विधिद्वारा कृषकलाई जानकारी गराउँदै आउनुभएको छ ।

सहकारीको चिया बगान करिब ३०० रोपनी क्षेत्रफलमा फैलिएको छ । विसं २०५२ बाट विरुवा रोपणको काम थालनी गरी २०६० सालबाट चिया उत्पादन शुरु गरिएको सहकारीका अध्यक्ष मोतिराज नेम्वाङले जानकारी दिनुभयो । सहकारीले प्राङ्गारिक प्रमाणित भएको हरियो चिया पत्ति बिक्री गर्दै आएको छ ।

वर्षेनी २० हजार किलोग्राम हरियो चिया पत्ति बिक्री हुँदै आएको अध्यक्ष नेम्वाङले वताउनुभयो । यहाँको हरियो चियापत्ति फिदिमस्थित कञ्चनजङ्घा टी स्टेटले खरिद गर्दै आएको छ ।

चियाको काँटछाँटका लागि आवश्यक यन्त्र तथा अन्य उपकरणको अभाव हुनु, ढुवानीको समस्याले दैनिक बिक्री गर्न नपाउनु, प्राङ्गारिक चियाको उचित बजार मूल्य नहुनु, उचित पारिश्रमिक उपलब्ध गराउन नसक्दा कामदारको अभाव हुनुलगायतले चिया सहकारीलाई व्यावसायिक उत्पादन गर्न समस्या पर्ने गरेको उक्त सहकारीको लेखा समिति संयोजक नरप्रसाद नेम्वाङको भनाइ थियो ।

कृषक पाठशालाको निरन्तरतासहित अन्य आर्थिक एवं प्राविधिक सहयोग हुनसके ग्रामीण कृषक चिया खेतीतर्फ आकर्षित हुनसक्ने सहकारीका अध्यक्ष नेम्वाङको भनाइ छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?