कियाको स्पोर्टेज कार ५० प्रतिशत डाउन पेमेन्टमा पाइने

काठमाडौं । कोरियाली कार निर्माता कम्पनी कियाको स्टाइलिस एसयुभी ‘स्पोर्टेज’ कार ग्राहकहरुका लागि सरल किस्ताबन्दीमा पाइने भएको छ । कोरियाली कार निर्माता कियाको नेपालका लागि एकमात्र अधिकृत बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज हो । कन्टिनेन्टल इन्टरप्राइजेजले नबिल बैंकसँगको सहकार्य गर्दै उक्त किस्ताबन्दी योजना अघि बढाएको हो ।

उक्त किस्ताबन्दी योजना अनुसार कियाका ग्राहकहरुले ४८ हजार ३८० रुपैयाँ मासिक किस्ता तिरेर कियाको लोकप्रिय स्पोर्टेज कार खरिद गर्न सकिने छ। स्पोर्टेज कार किन्न मूल्यको ५० प्रतिशतमात्रै डाउन पेमेन्ट मात्र गरे पुग्ने कम्पनीले जनाएको छ । उक्त किस्ताबन्दी योजना शून्य प्रतिशत ब्याजदरको हुनेछ । साथै उक्त योजनामा सहभागी भई बाँकी रकम आठ वर्ष लगाएर किस्ताबन्दीमा तिर्न सकिने प्रावधान रहेको छ ।

कियाको उक्त गाडी कन्टिनेन्टलले कोरियाबाटै आयात गरेर नेपालमा बिक्री–वितरण गर्ने गर्दछ । कम्पनीका अनुसार मुलुकभर छरिएर रहेका कियाका जुनसुकै आउटलेटबाट यो एसयुभी खरिद गर्दा पनि किस्ताबन्दी सुविधा पाइनेछ । कियाका आउटलेटहरु काठमाडौं उपत्यकामा गैरीधारा, महाराजगन्ज साथै जावलाखेलमा रहेका छन् ।

साथै दक्ष इन्जिनियरको निगरानीमा बिक्रीपछि प्रभावकारी सेवा र पार्टपुर्जा उपलब्ध गराउन पर्याप्त मात्रामा सर्भिस सेन्टरको व्यवस्था गरिएको पनि कम्पनीले जनाएको छ । उक्त किस्ताबन्दी योजना सन् २०२० जनवरी १५ तारिखसम्मका लागि ल्याइएको कम्पनीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?