यसरी तोकिए प्रदेश प्रमुख र अस्थायी मुकाम

काठमाडौँ, ४ माघ- लामो समयको प्रयासपछि सरकारले प्रदेश प्रमुख र प्रदेशको अस्थायी मुकाम तोकेको छ । सहमति जुटाउन प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रतिनिधिसभामा राष्ट्रिय दलको हैसियत प्राप्त गर्ने पाँच दल, कानुन र संविधानका ज्ञातालगायतसँग छलफल गरेका थिए । संविधानमा भएको व्यवस्थाअनुरूप सरकारलाई प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्नैपर्ने थियो सहमति नदिई ‘प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्ने काम सरकारको भएकाले आफ्नो जिम्मेवारी पूरा गरोस्’ भन्ने सुझाब दिएर प्रतिपक्षी एमाले र माओवादी विवादमा आउन चाहेनन् । त्यसपछि पनि प्रधानमन्त्री देउवाले अनौपचारिक रूपमा भागबन्डा मिलाएर भए पनि सहमतिमा प्रदेश प्रमुख तोक्नका लागि प्रयास जारी राखिरहे । तर, प्रतिपक्षीलाई मनाउने प्रयास सफल हुन सकेन एकातर्फ प्रतिपक्षी पन्छियो, अर्कोतर्फ सत्तासाझेदार दलहरूबीचमै प्रदेशको मुकाम तोक्ने र प्रदेश प्रमुखमा भागबन्डा मिलाउन गाह्रो थियो । त्यसपछि देउवाले प्रदेश प्रमुख तोक्ने र प्रदेशका सांसदहरूलाई काठमाडौंमा नै शपथ खुवाउने गरी अघि बढ्ने तयारी गरे । त्यो पनि उपयुक्त नभएपछि कार्यालय सञ्चालनका लागि मात्र अस्थायी मुकाम तोक्ने तयारी गरिएको हो । त्यो पनि व्यावहारिक नहुने देखेर चौतर्फी विरोधका बाबजुद बुधबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकबाट प्रदेश प्रमुख र प्रदेशको अस्थायी मुकाम तोक्ने निर्णय गरेका हुन् नयाँ पत्रिकामा खबर छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?