साग पुरुष क्रिकेट : नेपालले हात पार्यो कास्य

काठमाडौँ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपालले कास्य पदक हात पारेको छ । सोमबार भएको खेलमा माल्दिभ्सलाई पराजित गर्दै नेपालले कास्य पदक हात पारेको हो ।

तेस्रो स्थानका लागि भएको खेलमा नेपालले कमजोर प्रतिद्वन्दी माल्दिभ्सलाई नेपालले ५ विकेटको अन्तरले पराजित गरेको हो ।

माल्दिभ्सले दिएको ९५ रनको सामान्य लक्ष्य नेपालले १६ ओभर १ बलमा ५ विकेट गुमाएर पुरा गर्यो । नेपालका आरिफ शेखले सर्वाधिक ३२ रनको बनाए । यस्तै कप्तान ज्ञानेन्द्र मल्लले २२, रोहित पौडेलले अविजित १५ रन, पवन सर्राफले अविजित १० र बिनोद भण्डारीले १२ रन बनाए ।

माल्दिभ्सका उमर अदमले ३ विकेट लिए ।

यसअघि कीर्तिपुरस्थित टस हारेर पहिले ब्याटिङ गरेको माल्दिभ्सले २० ओभरमा ९ विकेट गुमाएर ९४ रन मात्र बनाउन सक्यो ।

माल्दिभ्सका लिम साफेगले अविजित १९ तथा मोहमद रिसवानले १७ रन जोड्दा कप्तान मोहमद माफोजले १६ रन बनाए । अमिल माउरुफले १३ रन जोडे ।

नेपालका ललित नारायण राजवंशीले ३ तथा सुशन भारीले २ विकेट लिए । सन् २०१० मा पहिलो पटक क्रिकेट समावेस गरिएको सागमा नेपाल चौथौ स्थानमा सिमित बनेको थियो ।

स्वर्णको लागि सोमबार नै श्रीलंका र बंगलादेश भिड्दै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?