सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु

काठमाडौं । धनुषा, बर्दिया, खोटाङ, दाङ, काभ्रे, बाँके, सुर्खेत र झापाका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ ।
धनुषा, नगराईन नगरपालिका-५ गंगुली पुलस्थित सडकमा ज.११ प २९५६ नम्बरको मोटरसाइकल पुलबाट अन्दाजी ३० फिट तल खसेर शुक्रबार दिउँसो दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक जनकपुर उपमहानगरपालिका-२० देबपुरा रुपैठा बस्ने १५ वर्षीय रोशन पासवान र मोटरसाइकलमा सवार १४ वर्षीय बिजय रामको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको छ ।

बर्दिया, राजापुर नगरपालिका-९ स्थित सडकमा भे.१ त ७१८० नम्बरको ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका साइकलयात्री सोही नगरपालिका-८ भोगपुर बस्ने ६० वर्षीय कालुराम थारुको नर्सिङहोम नेपालगंजमा उपचारको क्रममा शुक्रबार दिउँसो मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

खोटाङ, हलेसी तुवाचुङ नगरपालिका-१० बिजुलेधापस्थित सडकमा को.२ ह ८३४६ नम्बरको अटो अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा अटो चालक दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ अल्छेढुङ्गा बस्ने ३१ वर्षीय टंक दाहाल खत्रीको घटनास्थलमै मृत्यु भएको छ ।
दाङ, घोराही उपमहानगरपालिका-११ खैराचोकस्थित सडकमा रोकी राखेको रा.१ त १९३८ नम्बरको ट्याक्टरको ट्रलीमा रा.२ प ९३५० नम्बरको मोटरसाइकल शुक्रबार राति ठोक्किदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही उपमहानगरपालिका-८ बस्ने १९ वर्षीय रेशम वलीको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको छ ।

काभ्रे, धुलिखेल नगरपालिका-११ तिरतिरे धारास्थित सडकमा कांकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको ना.६ ख ९१३८ नम्बरको बसको ढोकाबाट लडेर गम्भीर घाइते भएका झापा तोपगाछी-७ बस्ने ४२ वर्षीय खड्ग नारायण श्रेष्ठको धुलिखेल अस्पतालमा उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बाँके, खजुरा गाउँपालिका-८ गुनाना चोकस्थित सडकमा भे.८ प ११५४ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका साइकलयात्री सोही ठाउँ बस्ने ६५ वर्षीय मोहमद जाविर खाँको नर्सिङहोम नेपालगंज हुँदै भारतको लखनउमा थप उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको छ । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सुर्खेत, विरेन्द्रनगर नगरपालिका-११ सिप्रदी गंगामाला मोटर पार्क नजिकै अन टेस्ट लेखिएको लोडरको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्री सोही ठाउँ बस्ने ६० वर्षीय टिकाराम घिमिरेको माया नर्सिङहोममा उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको छ । लोडर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

झापा, कमल गाउँपालिका-७ बाह्रघरे चोकस्थित सडकमा मे.११ प १२२९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा गम्भीर घाइते भएकी मोटरसाइकलमा सवार सोही गाउँपालिका बस्ने ५१ वर्षीया ज्ञानदेवि घिमालको दमक लाईफ लाईन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक मृतकको श्रीमान ५२ वर्षीय तुलसीराम घिमालको सोही अस्पतालाम उपचार भइरहेको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?