मुख्यमन्त्रीद्वारा विमानस्थलको अनुगमन

काठमाडौं । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले दाङको टरिगाउँ विमानस्थलको अनुगमन गर्नुभएको छ । तुलसीपुर उपमहानगरपालिका–१२ टरिगाउँस्थित उक्त विमानस्थलको आज अनुगमन गर्नुभएको हो ।

कुनै समय यात्रु अभावमा अवरुद्ध भए पनि पछिल्लो समय दैनिक दुई उडान थालेकाले उक्त विमानस्थलको धावनमार्ग विस्तारको अवस्थाका बारेमा उहाँले अनुगमन गर्नुभएको हो । अहिले धावनमार्ग सानो हुँदा साना जहाज मात्रै आउने गरेकाले अब ठूला जहाज ल्याउनका लागि धावनमार्ग विस्तार गर्ने समेत प्रतिबद्धता जनाउनुभयो ।

“अहिले धावनमार्ग सानो छ, ठूला जहाज आउन सकेको अवस्था छैन”, उहाँले भन्नुभयो, “अब यसलाई विस्तार गरी ठूला जहाज ल्याउन आवश्यक छ ।” उहाँले धावनमार्ग विस्तारका लागि केन्द्रीय सरकारले बजेटमा समेटेकाले अहिले ७५० मिटर रहेको उक्त धावनमार्गलाई एक हजार २०० मिटर बनाउने समेत बताउनुभयो ।

स्थानीय सरकारले नियमित हवाई सेवा शुरु गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै उहाँले अब प्रदेश र केन्द्रीय सरकारले नियमित हवाई सेवा शुरु गर्ने गरी कार्यक्रम अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै नियमित हवाई सेवालाई थप सहज बनाउनका लागि इन्धन डिपो स्थापना गर्नसमेत पहल थाल्ने उहाँले बताउनुभयो । त्यस अवसरमा प्रदेशसभा सदस्य बिमला ओली, उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे लगायतको टोलीले अनुगमन गरेको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?