बैंकका कर्मचारीलाई चेकबुक कसलाई दिनुपर्छ भन्ने सम्म थाहा छैन : गभर्नर नेपाल

काठमाडौं । अर्थमन्त्री डा। युवराज खतिवडाले बैंकहरुले मंहगो ब्याजदरमा कर्जा दिएर व्यापार गर्ने दिन सकिएको बताउनुभएको छ ।

ग्लोबल आइएमई बैंक र जनता बैंक नेपाल मर्ज भएपछि शुक्रबार एकिकृत कारोबारको सुरुवात गर्दै अर्थमन्त्री खतिवडाले ठुलो बैंक बनेपछि ब्याजदरलाई मात्र हेर्न नहुने बताउनुभएको हो । उहाँले अर्थतन्त्रको संरचना परिवर्तन भएको अवस्थामा व्यापारमा मात्र लगानी गर्ने भन्दा मध्यकालिन र दिर्घकालीन लगानी बढाउन ध्यान दिनुपर्ने बताउनुभयो । त्यसका लागि ठुलो आकारको बैंक हुँदा सहज हुने उहाँको भनाई थियो ।

उहाँले अल्पकालिन लगानीबाट दिगो आर्थिक विकास लिन नसकिने बताउँदै ठुलो पूँजी निर्माणका लागि ठुलो बैंक आवस्यक रहेको समेत बताउनुभयो । उहाँले ठुलो बैंकले विदेशी वित्तीय संस्थाबाट पूँजी भित्र्याउने क्षमता बढाउन सक्ने उल्लेख गर्दै अब कर्मचारीको वृद्धि विकास र सुचना प्रविधिमा लगानी बढाउन समेत आग्रह गर्नुभयो । उहाँले ठुलो बैंक भएपछि ठुलो परियोजनामा मात्र लगानी गर्ने र साना तथा मझौला उद्यमीहरुमा कर्जा प्रवाह कम गर्ने अवस्था आउन नदिन बैंकहरुले साना तथा मझौला कर्जा प्रवाह गर्ने (एसएमई) डेस्कलाई अझ प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा। चिरन्जीबी नेपालले मर्जरपछि बैंकहरु ठुलो बन्दै जानु अर्थतन्त्रका लागि सकारात्मक भएको बताउनुभयो । उहाँले बैंकहरुले प्रविधिमा लगानी बढाई पछिल्लो समय देखिएका चुनौतिलाई कम गर्नुपर्नेमा जोड दिनुभयो । गभर्नर नेपालले बैंकमा रहेका कर्मचारीलाई चेकबुक कसलाई दिनुपर्छ भन्ने सम्म थाहा नहुने अवस्था आउन नदिन क्षमतावान कर्मचारी छनोटमा ध्यान दिन आग्रह गर्नुभयो ।

ग्लोबल आइएमई बैंक र जनता बैंक गाभिएपछि देशकै सबैभन्दा ठुलो वाणिज्य बैंक बनेको छ । ठुलो बैंकले अर्थतन्त्रमा विषेश महत्व राख्ने भन्दै अर्थमन्त्री खतिवडाले पूँजी निर्माणकालागि बैंकका अन्य सूचकहरुमा ध्यान दिन समेत आग्रह गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?