काठमाडौं । बाजुराको स्वामीकार्तिक गाउँपालिका–१ साप्पाटमा आमाको मृत्युपछि अलपत्र बनेका दुई नाबालकलाई एसोएस बालग्राम धनगढीले लालनपालनसहित उद्धार गरेको छ । बच्चाको सहयोगका लागि सङ्कलित रकम बच्चाका बुबालाई हस्तान्तरण गरिएको छ ।
दुई बालक अलपत्र परेको समाचार विभिन्न सञ्चारमाध्यममा प्रकाशितपछि उद्धार गरिएको एसोएस बालग्राम धनगढीका प्रमुख पदम हमालले बताउनुभयो । आमा बच्ची ल्वारको गत साउनमा मृत्युपछि तीन वर्षको देवदत्त ल्वार र छ महिनाकी वसन्ती ल्वार बेसाहारा बनेका हुन् ।
बच्चाको दूध, लत्ताकपडा र खाद्यान्नका लागि सहयोग भन्दै देशभित्र र बाहिर बसेका नेपालीबाट सङ्कलन भएको रु ६६ हजार १५० प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानेले बच्चाको बुबालाई हस्तान्तरण गरेको नेपाल पत्रकार महासङ्घ बाजुराका अध्यक्ष प्रकाश सिंहले जानकारी दिनुभयो ।
बालक र बालिका अलपत्र अवस्थामा परेको थाहा पाएपछि उद्धार गरेको एसोएस धनगढीले जनाएकोे छ । सञ्चारमाध्यममा अलपत्र बालबालिका समाचार प्रकाशित तथा प्रसारित भएको थाहा पाएपछि देशभित्र र बाहिरबाट पनि धेरथोर सहयोग जुटेको छ । सानै रकम भए पनि सहयोग गरेको अमेरिका बस्दै आउनुभएकी गङ्गा कोइरालाले बताउनुभयो ।
स्वामीकार्तिक गाउँपालिकाका अध्यक्ष चिरञ्जीवी शाहीले पनि ती नाकालकलाई रु २५ हजार सहयोग गरेको बताउनुभयो । सम्पत्तिको नाममा एउटा घरसमेत नभएको ल्वार परिवारलाई साना बालबच्चा हुर्काउन निकै मुस्किल भएको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया