काठमाडौं । उत्तरपुस्तिका परीक्षणमा चरम लापरबाही भएको भन्दै पूर्वाञ्चल विश्वविद्यालयका विद्यार्थी आन्दोलित भएका छन् ।
उत्तरपुस्तिका परीक्षणमा लापरबाही हुने गरेको सार्वजनिक भएपछि जाँच प्रणाली सुधारको माग गर्दै पूर्वाञ्चल विश्वविद्यालयका विद्यार्थी आन्दोलित बनेको जनाइएको छ ।
पटक–पटक परीक्षा दिँदा पनि अनउत्तीर्ण हुने गरेपछि उत्तरपुस्तिका माग गरेर हेर्दा फेल हुने अवस्था नदेखिएको भन्दै विश्व विद्यालयबाट सम्बन्धन प्राप्त विराटनगरकै इष्टर्न र पुसेट इञ्जिनियरिङ कलेजका विद्यार्थीले उत्तरपुस्तिका पुनः जाँचको माग गरेका हुन् ।
विराटनगर महानगरपालिका २ शनिहाटस्थित विश्व विद्यालयको परीक्षा नियन्त्रण कार्यालय घेराउ गरेर धर्ना दिँदै विद्यार्थीले तीन दिनदेखि नाराबाजी र प्रदर्शन गरिरहेका छन् ।
परीक्षा प्रणाली अपारदर्शी र परीक्षार्थी मैत्री नभएको भन्दै उनीहरु आन्दोलित छन् । त्यस क्रममा परीक्षा नियन्त्रणको कार्यालयमा तोडफोड पनि गरिएको छ ।
माग पूरा नभएसम्म आन्दोलन जारी रहने विद्यार्थीहरुले बताएका छन् । विद्यार्थीहरुले हरेक सेमेष्टरमा मौका परीक्षाको व्यवस्था, निष्पक्ष तरिकाले परीक्षाफल सार्वजनिक गर्नुपर्ने, उत्तरपुस्तिका रि–चेकिङमा लाग्ने पाँच हजार दस्तुरलाई पाँच सय रुपैयाँ बनाउनुपर्ने लगायतका माग गरेका छन् । त्यस्तै उत्तर पुस्तिका परीक्षण र परीक्षाफलमा लापरबाही गर्ने शिक्षक तथा कर्मचारीलाई बर्खास्त गर्नुपर्ने, रि–चेकिङका क्रममा परीक्षाफल परिवर्तन भएको पाइएमा परिवर्तित परीक्षाफल लागू गर्नुपर्ने र उत्तरपुस्तिका कोडिङ गरेर मात्र जाँच गर्न दिने व्यवस्था मिलाइनु पर्ने माग विद्यार्थीको छ ।
विश्वविद्यालयका परीक्षा नियन्त्रक प्राडा. सूर्यप्रसाद संग्रौलाले विद्यार्थीहरुले उठाएका मागहरु नीति र नियममा रहेर सम्बोधन गर्न आफूहरु तयार रहेको बताउनु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया