प्रभावकारी भएन रातिमा काम

–नारायण अधिकारीचितवन, ३ माघ – नारायणगढ मुग्लिन सडकखण्डमा रातिको सममयमा यातायात रोकेर गरिएको काम प्रभावकारी हुन सकेको छैन काम प्रभावकारी नभएपछि गत वर्ष झै दिउँसोमा सवारी रोकेर सडक विस्तारको काम गर्ने गृहकार्य थालिएको छ । पुस १८ गतेबाट सडक विस्तारको कामलाई तीव्रता दिन राति १० बजेदेखि बिहान ४ बजेसम्म यातायात रोकेर काम गरिँदै आएको छ । बीचमा पुस २९ गतेबाट माघ २ गतेसम्म माघे सङ्क्रान्ति पर्वका कारण बाटो नरोकिए पनि आजबाट पुनः बाटो रोकेर काम गरिँदै छ रातिको समयमा सवारी रोकिँदा त्यसको असर दिउँसो पर्ने हुँदा उक्त सडक खण्ड पार गर्न घण्टौँ लाग्ने गरेको छ । जसका कारण दिनको काम पनि प्रभावित भएको छ नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार गएको १२ दिनमा एक दशमलव पाँच प्रतिशत मात्रै प्रगति भएको छ । जबकी यो समयमा चार प्रतिशत कामको प्रगति गर्ने लक्ष्य राखिएको थियो रातिमा ट्राफिक व्यवस्थापन गर्न झनै गाह्रो भएका कारण कामले गति लिन नसकेको हो, उनले भने “राति १० बजे अगाडि मुग्लिनबाट छुटेका सवारी रामनगर आइपुग्दा राति १/२ बज्छ, रामनगरबाट छुटेका सवारी मुग्लिन पुग्न राति १/२ बज्छ, कतिखेर काम गर्ने ?” रातिको समयमा सामान्य सवारी बिग्रँदा पनि घण्टौँ जाम पर्ने र ट्राफिक व्यवस्थापन गर्न नसकिँदा भित्तो काट्ने काम गर्न नसकिएको इञ्जिनियर खनालको भनाइ छ । उनले भने “रातिमा सामान्य जाम पर्दा पनि साना सवारीले ओभरटेक गरेर दुई लाइन सवारी भई दिँदा घण्टौँ सवारी जाम पर्ने समस्या देखिएको छ ।”रातको समयमा भन्दा कामलाई तीव्रता दिन दिउँसो नै सवारी आवागमन बन्द गरेर काम गर्नुपर्ने खनालले बताए । उनले भने “यसअघिको जस्तै दिउँसो सवारी रोकेर कामलाई तीव्रता दिनुपर्छ भन्ने सोचमा आयोजना पुगेको छ ।” आयोजना प्रमुख चन्द्रनारायण यादवले केही दिनमा सरोकारवाला निकायबीच छलफल गरेर यस विषयमा निर्णय गरिने बताए । दिउँसोमा यातायात आवागमन रोकेर भित्तो काट्ने र कालोपत्रे गर्ने काम एकै पटक गर्न सकिने उनको भनाइ छ पुस १८ गतेदेखि रातको समयमा यातायात रोकेर भित्तो काट्ने काम गर्ने र दिउँसोको समयमा एकतर्फी सवारी सञ्चालन गरेर कालोपत्रेको काम गर्ने निर्णय गरिएको थियो । रातिमा सवारी जाम पर्दा दिउँसोमा पनि त्यसको असर हुँदा राति र दिउँसो दुवै समयमा काम हुन नसकेको यादवले बताए । रातिमा ट्राफिक व्यवस्थापन गर्न कठिन हुने तर दिउँसोको समयमा ट्राफिक व्यवस्थापन गर्न सहज हुने उनको भनाइ छ रातिको समयमा अत्यधिक चिसोका कारणले पनि काममा कठिनाइ भएको यादवले बताए । “अन्य मौसम भएको भए केही सजिलो हुने भए पनि अहिले काम गर्न कठिन भएको छ ।” यादवले भने प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जाडो मौसम, बढ्दो सवारी चापलगायतका कारण कामको प्रगति नभएको भन्दै आयोजना र ठेकेदार कम्पनीले गत वर्षझैँ दिउँसो सवारी रोकेर काम गर्न दबाब दिइरहेको बताए । उनले एक दुई दिनमा पुनः छलफल गरी कामलाई तीव्रता दिन आवश्यक कदम चालिने बताए । रातमा सवारी रोकेर काम प्रभावकारी नभएमा दिउँसोमा रोकेर भए पनि काम गर्नुपर्ने उनको भनाइ छ जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्त दिउँसोका सवारी दिउँसो नै कटाउन नसकिँदा रातिमा काम गर्ने वातावरण नबनेको बताउछन । उनले भने “हामीले काठमाडौँबाट आउने रात्रिबस १० बजेभित्र कटिसक्ने र काठमाडौँ जान आउने सवारी बिहानीपख मात्रै आउने अनुमानका आधारमा राति काम गर्न सहज होला भन्ने अनुमान गरेका थियौँ ।” तर अनुमान गरेजस्तो सहज हुन नसकेको प्रहरी निरीक्षक पन्तले बताए उनले भने “गाडी बिग्रने, सडकमा सवारी राखेर चालक सुत्ने, ओभरटेक गर्ने, पुलमा एकतर्फी हुने हुँदा सवारी सहज हुन सकेन ।” दिउँसो सवारी सहज नहुँदा त्यसको असर रातभर पर्ने गरेको उनको भनाइ छ । उनले भने “अहिले पनि उक्त सडकखण्ड पार गर्न पाँच/छ घण्टा समय लाग्ने गरेको छ ।”रातिको समय भन्दा दिउँसोको समयमा यातायात रोकेर काम गर्न सहज हुने देखिएको छ । दिउँसो काम भएमा राति यातायात सहज हुने गरी सडक सफा गर्नुपर्ने पन्तले बताए । उनका अनुसार सो सडकखण्ड हुँदै दैनिक आठदेखि १० हजार सवारी आवागमन गर्छन् सवारी रोकेर सो सडकको घुमाउने, १६ किलो र चेपाङ डाडामा भित्तो काट्ने काम भइरहेको छ । घुमाउनेमा २०० मिटर, चेपाङ डाँडा र १६ किलोमा ३०० मिटर भित्तो काट्ने काम बाँकी छ । हालसम्म उक्त सडकखण्डको ७२ प्रतिशत काम सम्पन्न र १४ दशमलव ७ किलोमिटर सडक कालोपत्रे भएको आयोजनाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?