सहकारी चोरी गर्ने युवक प्रहरी फन्दामा

काठमाडौं । सहकारी चोरी गरेको अभियोगमा प्रहरीले धादिङबाट एक जनालाई पक्राउ गरेको छ ।
बेनिघाट रोराङ गाउँपालिका-७ चरौदीस्थित कृषि सहकारी संस्था लिमिटेडबाट गत मंसिर ६ गते भएको चोरीको घटनामा संलग्न रहेको अभियोगमा सोही गाउँपालिका बस्ने चितवन राप्ती नगरपालिका-३ लोथर घर भएका निरज चेपाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

उक्त सहकारी संस्थाबाट नगद ८९ हजार ७ सय ५ रुपैयाँ चोरी भएको घटनामा संलग्न व्यक्तिको खोजी गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरीले चेपाङलाई बेनिघाट रोराङ गाउँपालिका-५ बेनिघाटबाट नगद ३६ हजार ७ सय ४० रुपैयाँसहित फेला पारी पक्राउ गरेको हो ।

साथै चेपाङले बेनिघाट रोराङ गाउँपालिका-५ स्थित देव विकास बैंकको ढोकाको ताल्चा फुटाई चोरीको प्रयास गरेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?