माघ १९ र २० गते बैंकिङ एक्स्पो हुने

माघ १९ र २० गते दोस्रो बैंकिङ एक्स्पो संचालन हुने भएको छ । बुधबार काठमाडौँको बारेश्वरस्थित इन्द्रेणी फुडल्याण्डको उमंग हलमा आयोजित पत्रकार सम्मेलनमा बैंक तथा वित्तीय क्षेत्रको सूचना मेलाको रुपमा दोस्रो बैंकिङ एक्स्पो २०१८ संचालन गर्न लागिएको जानकारी दिइयो । नेपाल राष्ट्र बैंकको प्रवद्र्धन एवम् नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स संघ, माइक्रोफाइनान्स बैंकर्स संघ, नेपाल वित्तीय संस्था संघ, बीमा समिति, नेपाल धितोपत्र बोर्ड र युवा स्वरोजगार कोषसँगको सहकार्यमा मिडिया इन्टरनेशनलले उक्त सूचना मेलाको आयोजना गर्न लागेको हो वित्तीय जागरण – राष्ट्रिय अभियान अन्तर्गत बैंकिङ एक्स्पो कार्यक्रमबारे जानकारी दिने उद्देश्यले आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाल राष्ट्र बैंकका सहायक सूचना अधिकृत शम्भुनाथ ढुंगानाले वित्तीय साक्षरता, वित्तीय पहुँच र बीमा पहुँचमा मुलुक पछाडी परिरहेको अवस्थामा मिडिया इन्टरनेशनलले आयोजना गर्न लागेको एक्स्पोले वित्तीय सूचना प्रवाहमा ठूलो मद्दत पुर्याउने बताए । नेपाल राष्ट्र बैंकले २०६६।६७ सालदेखि नै नोटको जतन गर्नुपर्ने, हुण्डीको प्रयोग गर्न नहुने, बचत गर्ने बानी बसाल्नुपर्ने, बचत गरेको रकम बैंकिङ च्यानलमा राख्नुपर्ने लगायतका नाराहरु उठाउँदै आएको जानकारी दिँदै ढुंगानाले राष्ट्र बैंकको प्रयासलाई बैंकिङ एक्स्पोले थप सहयोग पुर्याउनेमा विश्वास व्यक्त गरे । विगत २।३ वर्षदेखि राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत नै सबै नेपालीको बैंक खाता हुनुपर्नेमा जोड दिँदै आएकोमा सोही नारालाई सार्थक तुल्याउन बैंकिङ एक्स्पो सहयोगी सावित हुने भन्दै उनले कार्यक्रमको सफलताको लागि शुभकामना व्यक्त गरे बीमा समितिका निर्देशक राजुरमन पौडेलले बीमाको ८ प्रतिशतको दायरालाई फराकिलो बनाउन बीमा चेतनाको आवश्यकता रहेको भन्दै सो आवश्यकता पूरा गर्न बैंकिङ एक्स्पोले मद्दत पुर्याउने बताए । बीमालाई विक्री वस्तु नभई खरिद वस्तु बनाउनुपर्ने बताउँदै उनले बीमाको महत्व र आवश्यकताबारे सर्वसाधारणलाई बुझाउन बैंकिङ एक्स्पो महत्वपूर्ण सावित हुने विश्वास व्यक्त गरे नेपाल बैंकर्स संघका कार्यसमिति सदस्य एवम् प्रभु बैंकका सीईओ अशोक शेरचनले अर्थतन्त्रलाई चलायमान बनाइराख्न कुनै एक संस्थाले मात्र नभएर बैंक, निजी क्षेत्र एवम् सरकारले समेत यस्तो जागरणमूलक कार्यक्रमहरु संचालनमा जोड दिनुपर्ने धारणा राखे । बैंकिङ एक्स्पोले उद्यमी कसरी बन्ने, गाउँगाउँमा पुगेका बैंकहरुको उपयोग कसरी गर्ने लगायतका अत्यावश्यकीय जानकारी दिने भएकाले सबैले एक्स्पोको अवलोकन गर्नुपर्ने उनले भनाई थियो त्यस्तै, डेभलपमेन्ट बैैंकर्स संघका अध्यक्ष एवम् मुक्तिनाथ विकास बैंकका सीईओ भरतराज ढकालले राष्ट्र बैंक र सरकारले गर्नुपर्ने वित्तीय जागरण कार्यक्रम मिडिया इन्टरनेशनलले गर्नु सराहनिय भएको बताए । बैंकहरु सहर बजार धनीहरुका लागि मात्रै हो भन्ने विद्यमान मानसिकतालाई परिवर्तन गर्न बैंकिङ एक्स्पो सहयोगी सावित हुने उनले बताए । गाउँगाउँमा बैंक पुगेर पनि उद्यमशीलता बढ्न नसकेको तथ्यलाई स्मरण गर्दै ढकालले बैंकिङ एक्स्पोबाट कर्जा, व्याजदर लगायतका विषयमा सूचना लिएर उद्यमी बन्न सकिने भएकाले यो अवसर नगुमाउन आग्रह गरे । बैंकिङ एक्स्पोको सफलताका लागि शुभकामना व्यक्त गर्दै उनले वित्तीय जागरण अभियानमा डेभलपमेन्ट बैंकर्स संघको सहयोग सदैव रहने प्रतिवद्धता जनाए माइक्रोफाइनान्स बैंकर्स संघका कार्यसमिति सदस्य एवम् फस्र्ट माइक्रोफाइनान्सका सीईओ भेषराज पन्थीले माइक्रोफाइनान्सहरु दुर्गम भेगसम्म पुगेको भन्दै वित्तीय पहुँच विस्तारका लागि मिडिया इन्टरनेशनलको अथक प्रयासमा माइक्रोफाइनान्स बैंकर्स एसोसिएसनले सहयोग गर्ने बताए त्यसैगरी, मर्चेन्ट बैंकर्स एसोसिएसनका निवर्तमान अध्यक्ष एवम् रिलायन्स लाइफ इन्स्योरेन्सका सीईओ प्रविणरमन पराजुलीले बीमा शिक्षा र वित्तीय साक्षरता अभिवृद्धि गर्नका लागि बैंकिङ एक्स्पो अपरिहार्य रहेको बताए । बैंकिङ एक्स्पोको सफलताको लागि शूभकामना व्यक्त गर्दै पराजुलीले यस्तो चेतनामूलक कार्यक्रमका लागि आफूहरुले सदैव सहयोग गर्ने प्रतिवद्धता जनाए बैंकिङ एक्स्पो कार्यक्रमका संयोजक माधव निर्दोषले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै सरकारको अपेक्षा नगरी आफ्नै स्थानबाट केही गर्न सकिन्छ भन्ने चेतना जगाउनका लागि बैंकिङ एक्स्पोको आयोजना गर्न लागिएको जानकारी दिए । राजधानीमा मुलुकको सबै क्षेत्रका युवाहरु बसोबास गर्ने भएकाले राजधानीमा नै बैंकिङ एक्स्पोको आयोजना गरिएको उनले बताए । विशेष गरी, मेनेजमेन्ट अध्ययन गरेका वा गरिरहेका विद्यार्थी वर्ग, गरिरहेको व्यवसाय बढाउन चाहने उद्यमीहरु, रकमको अभावमा उद्यम सुरु गर्न नसकिरहेका जुझारु युवा र स्वदेशमै केही गर्छु भनेर अवसर खोजिरहेका व्यक्तिहरुलाई बैंकिङ एक्स्पोले लक्षित गरेको जानकारी संयोजक निर्दोषले दिए माघ १९ गते विहान ११ बजे नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीवि नेपालद्धारा उद्घाटन गरिने कार्यक्रममा विशेषगरी बैंकिङ प्रविधि र सेयर बजारसम्बन्धी सूचनालाई केन्द्रमा राखिने जानकारी पत्रकार सम्मेलनमा दिइयो । एक्स्पोमा बैंक तथा वित्तीय संस्थाका साथमा रेमिट्यान्स कम्पनीहरु, बीमा कम्पनीहरु, धितोपत्र बोर्ड, युवा स्वरोजगार कोष लगायतको सूचनामूलक स्टल रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?