बङ्गुरपालनमा रमाउँदै, मनग्य कमाउँदै

काठमाडौं । अहिले बागलुङको गलकोट नगरपालिका–२ नरेठाँटी, तोरीखोलास्थित ‘धौलागिरि बङ्गुर फार्ममा पाठापाठीसहित २०० बङ्गुर छन् । माउमा पोथी ४३ र भाले बङ्गुर पाँच छन् । मासु र पाठापाठी बेच्दा मासिक पाँच लाखसम्मको कारोवार हुन्छ । ‘फार्म’मा लगानी बढेर अहिले एक करोड ३० लाख नाघेको छ ।

पाँच वर्षअघि कृषि मिलीजुली सहकारीले खोलेको ‘फार्म’ व्यवसायी याम कालामगरको स्वामित्वमा आएको चार वर्ष पुग्यो । सहकारीले चलाउन नसकेपछि व्यवसायी कालामगरले ८६ लाखमा जग्गासहित ‘फार्म’ किन्नुभएको थियो । “पाँच रोपनी आफ्नै जग्गा छ, थप चार रोपनी जग्गा भाडामा लिएर बङ्गुरपालन गरेको छु”, उहाँले भन्नुभयो ।

जग्गाको मासिक सात हजार भाडा तिनुपर्छ । ढुवानीका लागि गाडी खरीद, खोर विस्तार, जनशक्ति व्यवस्थापन लगायतमा लगानी थपिएको छ । ‘फार्म’मा कालामगर परिवारबाहेक अन्य चार जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । बङ्गुरपालन व्यवसायमा कालामगरसँगै उहाँकी श्रीमती शिवकला र छोरा विवेक पनि उत्तिकै खट्नुहुन्छ ।

कालामगरले ‘फार्म’देखि झण्डै ४५ किमिको दूरीमा पर्ने सदरमुकाम बागलुङ बजारमा मासु पसलसमेत सञ्चालन गर्नुभएको छ । मासुका लागि बङ्गुर खपत हुने मुख्य बजार बागलुङ र गलकोटकै हटिया हो । पाठापाठीका लागि जिल्ला बाहिरबाटसमेत माग आउने गरेको व्यवसायी कालामगरले बताउनुभयो ।

“एक महिना पुगेका पाठापाठीलाई पाँच हजार पर्छ, मासुको बजार मूल्य भने अहिले प्रतिकेजी ४६० छ”, उहाँले भन्नुभयो । एउटै बङ्गुरले १७ वटासम्म पाठापाठी जन्माउँदछन् । थोरैमा पनि पाँच/छ वटा जन्मन्छन् । एकसाथ धेरै माउ ब्याउँदा खोर भरिभराउ हुन्छ । तीन महिना २१ दिनमा बङ्गुर ब्याउँछ । मासु भन्दा पाठापाठी बेच्दा बढी फाइदा उठ्छ ।

“मासिक त्यस्तै चार÷पाँच लाखसम्म आम्दानी हुन्छ”, सञ्चालक काला मगरले भन्नुभयो, “अहिलेसम्म सबै लगानीमै गएको छ, खर्च पनि उस्तै छ ।” लगानी थप्दै गएपछि पछि मुनाफा बढ्ने उहाँको विश्वास छ । अहिले भएको खोर अपुग देखिएकाले थप्ने योजना छ । बङ्गुरको दाना, कामदार व्यवस्थापन र ढुवानीमा बढी खर्च छ ।

ठूलो लगानीमा बङ्गुरपालन शुरु गरे पनि सरकारी क्षेत्रबाट कुनै सहयोग नपाएको उहाँको गुनासो रहेको छ । “मेरै फार्मबाट पाठापाठी लगेर पालेकाले अनुदान पाए, तर मलाई अहिलेसम्म कसैले हेरेको छैन”, उहाँले भन्नुभयो । प्रदेश सरकारबाट अनुदान पाउने आसमा प्रस्तावपत्र पठाएपनि कुनै सुनुवाइ नभएको उहाले गुनासो गर्नुभयो ।

वडाध्यक्ष हिमबहादुर भण्डारीले नगरपालिकाबाट आवश्यक कागजातसहित अनुदानका लागि कृषि ज्ञान केन्द्रमा सिफारिस गरेको बताउनुभयो । “हामी पनि अचम्ममा परेका छौँ, अरु साना फार्मले अनुदान पाउँदा पनि उहाँले नपाउनु दुःखद् छ”, वडाध्यक्ष भण्डारीले भन्नुभयो । आगामी बजेटमा वडाबाट सक्दो सहयोग उपलब्ध गराइने उहाँको प्रतिबद्धता छ ।

पछिल्लो समय मासु र पाठापाठीको माग बढेपछि बङ्गुरपालन व्यवसाय फस्टाएको छ । राम्रो कमाइका लागि किसान बङ्गुरपालनमा आकर्षित छन् । कम समयमै राम्रो प्रतिफल आउने हुँदा बङ्गुरपालन बढेको जिल्लास्थित भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले जनाएको छ । बजार मागअनुसार उत्पादन बढाउनुपर्ने आवश्यकता रहेको केन्द्रका वरिष्ठ पशु विकास अधिकृत शम्भुराज पाण्डेले बताउनुभयो ।

“मासु र पाठापाठीको माग बढ्दो छ, किसान पनि उत्साहित छन्”, उहाँले भन्नुभयो, “गाउँगाउँमा व्यावसायिक बङ्गुरपालन बढेको छ ।” पहिले जनजाति समुदायमा बढी प्रयोग हुने बङ्गुरको मासु अहिले शहरका ठूला होटल, रेष्टुराँमा रोजाइको परिकार बन्ने गरेको छ । जिल्लाको राङ्खानी, तङ्ग्राम, दमेक, नरेठाँटी, पाण्डवखानीलगायतका ठाउँमा व्यावसायिक बङ्गुर पालन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?