बागलुङ दुर्घटना अपडेट : १४ जनाको मृत्यु, घाइतेको हेलिकोप्टरबाट उद्धार हुँदै

काठमाडौं । गुल्मीको इस्माबाट कुलपूजाका लागि बागलुङको निसिखोला आउँदै गरेको ग १ ज ५२१९ नंको जीप दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख नवराज भट्टका अनुसार बडिगाड गाउँपालिकाको कोप्चे भन्ने स्थानमा जीप दुर्घटना भएको हो । एकजना वेपत्ता भएका छन् ।

जीप मंगलबार बिहान १० बजे बडिगाड गाउँपालिका–७ मा मध्यपहाडी राजमार्गबाट तल बडिगाड खोलामा खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ३ जना गम्भीर घाइते भएका छन् । घाइतेको  हेलिकोप्टरबाट उद्धारको तयारी भइरहेको बताइएको छ । मृतकको सनाखत भएको छैन । कुल पूजाका लागि छुटेकाले एकाघरका मानिस परेको हुनसक्ने प्रहरीको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?