जित्नेलाई माला लगाउने असल संस्कारलाई प्रोत्साहन गरौं : निर्वाचन आयुक्त थपलिया

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा पराजित उम्मेदवारले विजयी हुनेलाई माला लगाउने संस्कारले निर्वाचन स्वच्छ, स्वतन्त्र र विश्वासनीय भएको सन्देश प्रवाह गरेको बताउनुभएको छ ।

उपनिर्वाचनको सबै मतपरिणाम सार्वजनिक भएपछि कर्मचारीलाई धन्यवाद ज्ञापन गर्न आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “चुनावमा पराजित हुने पक्षले गौरवका साथ जित्नेलाई माला गराउने असल संस्कारलाई हामीले प्रोत्साहन र स्थापित गर्नुपर्छ ।”

यस्तो असल संस्कारले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष गराउन आयोगलाई थप हौसल्ला र योगदान पुग्ने उल्लेख गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले शून्यजस्तै खर्चमा सञ्चारमाध्यममा प्रचारप्रसार, कम खर्चमा मतदाता शिक्षा र तुलनात्मकरुपमा आचार संहिताको पालना गराउन सफलता मिलेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष हुनमा हामीले सामूहिकरुपमा गरेको असल र राम्रो गरौं भन्ने साझा प्रणको प्रतिफल हो ।”

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले उपनिर्वाचन गर्नु पर्नेस्थान थोरै भएपनि निर्वाचन सामग्री, जनशक्ति र सुरक्षा व्यवस्थापन गरी निर्वाचनका सबै विधि र प्रक्रिया अपनाएर चुनाव गरिएको बताउनुभयो ।

विगतका निर्वाचनमा निर्वाचन आचार संहिताको अनुगमन गर्न र पालना गराउन नसकेको, मतदाता शिक्षा प्रभावकारी हुन नसकेको तथा प्रचारप्रसारमा ठूलो धनराशी खर्च भएको आरोप आयोग माथि लगाइँदै आएको थियो ।

प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको गत शनिबार मुलुकका ३७ जिल्लाका ५२ स्थानमा भएको उपनिर्वाचनको सबै मत परिणाम निर्वाचन आयोगले आज दिउँसो सार्वजनिक गरिसकेको छ ।

निर्वाचनमा पाँच हजार ५४ कर्मचारी, ३१० मतदाता शिक्षा कार्यकर्ता खटाएको थियो । आयोगको परामर्शमा सरकारले गत साउन १६ गते उपनिर्वाचन घोषणा गरेकोमा त्यसको ठिक चार महिनामा आज मङ्सिर १६ गते उपनिर्वाचनको सबै मतपरिणाम घोषणा गर्न आयोग सफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?