घरेलु तथा साना उद्योगको प्रवर्द्धन सरकारको प्राथमिकता : मन्त्री भट्ट

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आर्थिक विकासका आधार लघु, घरेलु तथा साना उद्योगको प्रवद्र्घन र विकास सरकारको प्राथमिकता भएकाले सोका लागि दृढ भएर लाग्ने बताउनुभएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घ र विभिन्न वस्तुगत सङ्घको संयुक्त प्रतिनिधिमण्डलसँग मन्त्रालयमा आज भएको भेटमा उहाँले भन्नुभयो, “लघु, घरेलु तथा साना उद्योगहरुसँग सिङ्गो राष्ट्रको राष्ट्रिय हित जोडिएको छ । यो क्षेत्रलाई अगाडि बढाउन म दृढ छु ।”

उद्योग मन्त्रालयसँग लघु, घरेलु तथा साना उद्योगहरुको प्रत्यक्ष सम्बन्ध रहेको बताउँदै मन्त्री भट्टले समस्यामात्र होइन, समाधानका उपाय पनि पहिल्याउन व्यवसायीलाई आग्रह गर्दै गर्नुभयो ।

महासङ्घका अध्यक्ष श्यामप्रसाद गिरीले उद्योगको सवालमा पुस्ता हस्तान्तरण हुन नसक्नु, प्रविधि हस्तान्तरण हुन नसक्नु, वित्तीय पहुँचको समस्या र बजारीकरणजस्ता समस्या लघु घरेलु तथा साना उद्योगले झेलिरहेकोतर्फ ध्यानाकर्षण गराउनुभयो ।

“अघिल्लो पुस्ताले गरिरहेको काम पछिल्लो पुस्ताले गरिरहेको छैन यो नेपालका लागि ठूलो चुनौतीको विषय बनेको छ”, उहाँले भन्नुभयो, “यसका पछाडि दुई–तीनवटा कारण छन् । हामीले जसरी उद्योग चलाइरहेका छौँ, ती उद्योगहरु व्यवस्थित छैनन् । उद्योग ग्राममा नचलाइएकाले छरपस्ट भइरहेको हुँदा अहिले पालिका र स्थानीय जनताको निशानाको सिकार बनिरहेका छन् उद्योगहरु । त्यसैगरी प्रदेश सरकारका पनि आँखामा पर्न सकिरहेका छैनन् । यस्ता उद्योगहरुलाई व्यवस्थित गर्न संसारभर उद्योगग्रामको प्रचलन छ ।” रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?