नेपाली डाक्टरले पत्ता लगाए ‘इबोला’ को औषधि

बागलुङ, ३ माघ बागलुङका एक डाक्टरले अमेरिकामा चामत्कारिक सफलता प्राप्त गरेका छन् । अमेरिकाको जर्जिया राज्यस्थित इन्स्टिच्युट फर बायोमेडिकल साइन्स विश्वविद्यालयमा कार्यरत डा.सुदीप खड्कासहित ११ वैज्ञानिकको टोलीले विश्वमै खतरनाक मानिएको इबोला भाइरसको औषधि पत्ता लगाएको शोधपत्र प्रतिष्ठित ‘एन्टिभाइरल रिसर्च’ जर्नलमा प्रकाशित छ । टोलीमा नेपाली डा.खड्काबाहेक बाँकी सदस्य अन्य मुलुकका छन् दुई लाख वटा औषधिको अनुसन्धानबाट तीन वर्ष लगाएर ५६ सम्भावित औषधि पत्ता लागेको डा.खड्काले बताए । तीमध्ये एउटा बेन्जोक्विन अनलाइन समूहको औषधिको विस्तृत अध्ययन भएको छ ‘अन्य भाइरसको भन्दा इबोला भाइरसको औषधि खोज अध्ययन १० गुणा बढी चुनौतीपूर्ण थियो तर हाम्रो टिम अध्ययनमा सफल भएको छ । थप औषधि पनि विकासकै क्रममा छन्’, उनले टेलिफोनमा भने, ‘यो औषधि हालै संसारमा भयभीत बनाइरहेको अर्को जीका भाइरसविरुद्ध पनि प्रभावकारी देखिएको छ ।’यो प्रारम्भिक अनुसन्धानले चाँडै इबोला र जीकाको उपचार हुन सक्ने सम्भावना बढेको छ । तर, बजारमा आउनुभन्दा पहिले यो औषधिको प्रयोग गर्ने विधि, औषधिको मात्रा र साइड इफेक्टबारे थप अनुसन्धान सुरु भएको छ । उनका अनुसार यो प्रक्रिया सकिएर इबोलाको औषधि सर्वसुलभ हुन अझै केही वर्ष लाग्नेछ, अन्नपूर्ण पोस्टमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?