जन्मदिनमा ७० लाख !

चितवन, ३ माघ — खैरहनी नगरपालिका–८ पर्सा बजारका ५५ वर्षीय मुरलीप्रसाद गजुरेल सधैं जन्मदिन खोजिरहन्छन् । बिहान उठ्नासाथ पहिले आफूले टिपेको जन्ममितिसहितको डायरी पल्टाउँछन् । त्यसमा कसैको जन्मदिन भेटे तुरुन्तै फोन गरेर शुभकामना दिन्छन् । त्यहाँ जन्मदिन फेला नपारे सामाजिक सञ्जाल फेसबुक खोल्छन् जन्मदिन पर्नेलाई पहिले शुभकामना दिन्छन् । त्यसपछि जन्मदिनमा खर्च गर्ने पैसा गरिब जेहेन्दार तथा विपन्न विद्यार्थी पढ्न खोलिएको कोषमा सहयोग गर्नआग्रह गर्छन् । सहयोग गर्न तयार भए चाहे नवलपरासी होस् चाहे मकवानपुर, मोटरसाइकल लिएर दौडिहाल्छन् । घरको न्यून आर्थिक अवस्थाका कारण आफूले एसएलसीसम्म गर्न नसकेपछि अहिले उनी आफ्नोजस्तो पीडा अरूले भोग्नु नपरोस् भन्दै विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिमार्फत पढाउन सक्रिय छन् उनले आफैं पढेको खैरहनी माविमा २०६७ पुसमा ‘जन्मोत्सव तथा स्मृति’ छात्रवृत्ति अक्षयकोष स्थापना गरे । उनको एक्लो प्रयासमा कोषमा अहिले ७० लाख ५ हजार जम्मा भएको छ । लक्ष्य १ करोड बनाउने छ । कोषले ब्याजबाट आउने रकम विद्यार्थीको अवस्था हेरेर आंशिक र पूर्ण छात्रवृत्तिमा खर्च गर्छ । अहिलेसम्म ३ सय ५१ जना विद्यार्थीले पूर्ण तथा आंशिक छात्रवृत्ति पाइसकेका छन् । कोषबाट कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिन्छ । सहयोग स्वरूप आउने रकम गरिमा विकास बैंक र हिमालय बैंकमा रहेको कोषको खातामा जम्मा गरिन्छ । भौचरको तस्बिर खिचेर सामाजिक सञ्जाल फेसबुकमार्फत सहयोग गर्ने व्यक्तिलाई पठाइन्छ उनले डायरीमा साढे ४ सय जनाको जन्मदिनको मिति टिपेर राखेका छन् । विवाह उत्सव, व्रतबन्ध, स्मृति वा कुनै चाडबाडमा सहयोग लिन बोलाए त्यहीं पुग्छन्, कान्तिपुर दैनिकमा खबर छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?