गुणस्तरीय स्वास्थ्य समृद्ध नेपालको आधार : उपप्रधानमन्त्री पोखरेल

काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले गुणस्तरीय स्वास्थ्य भए मात्र ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा हुने बताउनुभएको छ ।

बसुन्धरास्थित ‘काठमाडौँ नेचरोप्याथी अस्पताल’को आज शुभारम्भ कार्यक्रममा पूर्वाधार निर्माण भएर मात्र मुलुक समृद्ध हुने बताउँदै राष्ट्रिय आकाङ्क्षा पूरा गर्न गुणस्तरीय स्वास्थ्य सेवा आवश्यक रहेको स्पष्ट गर्नुभयो ।

उपप्रधानमन्त्री पोखरेलले प्राकृतिक चिकित्साको माध्यमबाट आम नागरिकलाई स्वास्थ्य सेवा दिएर सो अस्पतालले महत्वपूर्ण कामको थालनी गरेको बताउनुभयो ।
“राम्रो कामको थालनी भएको छ, अखण्डित ढङ्गले सेवा प्रदान गर्नुहोस्”, शुभकामना दिँदै उहाँले भन्नुभयो । अस्पतालको विकासका लागि सरकारका तर्फबाट सहयोग गरिने उहाँको भनाइ थियो ।

सो अवसरमा पूर्वमन्त्री रामबहादुर गुरुङले योग र प्राकृतिक चिकित्साको खाँचो दिनानुदिन बढ्दै गएको छ भन्दै गुणस्तरीय सेवा दिन आग्रह गर्नुभयो । वरिष्ठ योग चिकित्सक हरिप्रसाद पोखरेलले सरकारले सरुवा रोगको उपचारका लागि ठूलो धनराशि खर्च गरे पनि नसर्ने रोगका बारेमा काम गर्न नसकेको बताउनुभयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय एलोपेथिक मन्त्रालयका रूपमा मात्र सिमित उहाँको भनाइ थियो ।

सो अस्पतालले प्राकृतिक चिकित्सा, फिजियोथेरापी, मसाजथेरापी, हाइड्रोथेरापी, योगथेरापी, अकुपञ्चर, अकुप्रेसर, भोजन परामर्शलगायत सेवा प्रदान गर्ने अध्यक्ष गणेश पाण्डेले जानकारी दिनुभयो । अस्पतालमा बहिरङ्ग, अन्तरङ्ग, प्रयोगशाला, विशिष्ट आवास कक्ष, जीवनशैली क्लिनिक आदि सुविधा छन् ।

विनाऔषधि र विनाशल्यक्रिया उपचार गरिने उक्त अस्पतालमा उच्च रक्तचाप, ग्याष्ट्रिक, मोटोपन, दम, खोकी, कम्मर, गर्धन, बाथ, हाडसम्बन्धी रोगको उपचार गरिने अस्पतालका मेडिकल डाइरेक्टर डा यञ्जन गैरेले जानकारी दिनुभयोे । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?