काठमाडौं । १३ औं दक्षिण एसियाली खेल(साग) मा स्वर्ण पदक जित्ने तेक्वान्दो खेलाडी आयशा शाक्यको लक्ष्य छ । स्वर्ण पदककै लागि आयशा ५ महिनादेखि घरपरिवार, आफ्नाआफन्त, श्रीमान् र आफ्ना मुटुका टुक्राजस्ता दुई छोराहरुभन्दा टाढा ‘क्लोज क्याम्प’मा बसेकी छिन् । शुरुको २ महिनासम्म त वेलामौका मिलाएर छोराहरु भेट्ने गर्थिन् आयशा तर, अभ्यास झन्झन् कठिन हुँदै गएपछि ३ महिनादेखि छोराहरुलाई देख्न नपाएको उनी बताउँछिन् ।
‘ठूलो बाबु त बुझ्ने भैसक्यो त्यसैले म प्रतिस्पर्धाको तयारी गर्दैछु भन्ने थाहा छ उसलाई तर, सानो बाबु चाहिँ मामु कहाँ हुनुहुन्छ भनेर झगडा गरिरहन्छ रे,’ केही भावुक हुँदै उनले भनिन् ।
त्यसो त आयशाले छोराहरुलाई घरमै छाडेर अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिएको यो पहिलो पटक होइन ।
दोस्रो सन्तान जन्मिएको केही समय पश्चात नै उनी सन् २०१६ को १२ औं साग मैदानमा उत्रिएकी थिइन् । त्यस खेलमा आयशाले नेपाललाई रजत पदक दिलाएकी थिइन् ।
आयशाले अहिलेसम्म दशौं सागमा रजत, ११ औं मा स्वर्ण र १२ औंमा रजत गरी राष्ट्रको पोल्टामा ३ वटा पदक पारिसकेकी छिन् भने सन् २००६ मा कतारमा भएको १५ औं एसियाली खेलकुदमा उनले कास्य जितेकी थिइन् । यसपालि उनको ‘टार्गेट’ गोल्ड हो ।
त्यही लक्ष्यप्राप्तिका निमित्त बिहान र बेलुका उनी अभ्यासमै व्यस्त हुन्छिन् । बाँकी समय विश्राम । शरीरले विश्राम गरेपनि मस्तिष्क भने आउँदो मंसिर १६ गतेको प्रतिस्पर्धाकै बारेमा सोचिरहन्छ । ‘बिहे भएर छोराछोरी भइसकेपछि पनि के खेल्न मनलागेको होला’ भन्ने प्रश्नको जवाफ आफ्नो प्रस्तुतिले जो दिनु छ उनलाई । भन्छिन्, ‘यसपालि मैले देशको लागि खेल्नुछ, आफ्ना छोराहरुका लागि खेल्नुछ, मलाई साथ दिने मेरो परिवारको लागि खेल्नुछ र सबैभन्दा महत्त्वपूर्ण त आफ्नै अस्तित्वको लागि खेल्नुछ ।’
‘विवाह र छोराछोरी भइसकेपछि पनि महिला खेलाडीहरु सक्रिय हुन्छन् भन्ने विश्वास स्थापित गर्नुछ,’ आयशा अगाडि थप्छिन् ।
आयशाका निमित्त यो प्रतियोगिता यसकारण पनि महत्त्वपूर्ण छ कि यसपटक उनले तेक्वान्दोको नयाँ विधामा पाइला चालेकी छिन् । पहिला आयशा ‘ग्योरेगी’ विधामा प्रतिस्पर्धा गर्थिन् । ‘ग्योरेगी’ अर्थात् ‘फाइट’ । ‘यस विधामा गति, शक्ति र सम्पर्कमा ध्यान दिनुपर्छ,’ ग्योरेगीका बारेमा अझै प्रष्ट्याउँदै उनले भनिन् ।
यसपालि उनी ‘पुम्से’ व्यक्तिगत (३० वर्ष माथि ) र ‘पुम्से’ जोडी (३० वर्षमाथि) गरी दुई विधामा प्रतिस्पर्धा गर्न गइरहेकी छिन् । उनका अनुसार यस विधामा ‘सन्तुलन, शुद्धता र रिदम’मा ध्यान पु¥याउनुपर्छ । अर्थात ‘पुम्से’ मूलतः कला र एकाग्रतामा भरपर्ने खेल हो । सागमा यो विधामा पहिलोपटक प्रतिस्पर्धा हुँदैछ ।
‘घरेलु मैदानमै प्रतियोगिता हुनुले चाहिँ केकस्तो प्रभाव पार्छ यहाँलाई ?,’ हामीले प्रश्न राख्यौं ।
‘राम्रो नराम्रो दुवै पक्ष छ,’ उनले सटिक उक्त फर्काइन् ।
‘राम्रो पक्ष के होला ?’
‘खेल्नलाई अर्को देश नजानु परेपछि आफ्नो पूरा ध्यान गेमलाई मात्र दिनुपर्नेछ । भिन्न देश, भिन्न परिवेश, भिन्न मान्छेहरुसँग घुलमिल हुनुपर्ने चिन्ता लिनुपर्दैन ।’
‘आफ्नै मैदान, आफ्नै दर्शक हुँदा खेल्न हौसला मिल्छ,’ मुस्कुराउँदै उनी भन्छिन्, ‘आधा एनर्जी त हुटिङले नै थपिदिन्छ ।’
तर, कदाचित हारियो भने पनि दर्शकहरुको उदासिनता तत्कालै देख्नुपर्ने भएकाले घरेलु मैदानमा प्रतियोगिता हुँदा अलि ‘नर्भसनेस’पनि हुने उनको भनाइ छ ।
विगत ५ महिनादेखि ‘क्लोज क्याम्प’मा रहेर हरेक दिन ६ घण्टा अभ्यास गर्दा पनि आयशालाई लाग्छ ‘अभ्यास अझै पुगेन’ । खेललाई पुज्ने खेलाडीले यसो सोच्नु स्वभाविक पनि हो । आयशाले आफूलाई मानसिक रुपमा यतिसम्म तयार गरेकी छिन् कि खेलमा हारजीत जे भएपनि ‘गिभ अप’ गर्ने मुडमा उनी पक्कै पनि छैनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया