खानेपानी र कृषि कार्यालयमा अझै कर्मचारी अपुग

काठमाडौं । प्रदेश सरकारमातहत रहेका डडेल्धुराका अधिकांश कार्यालयमा अझै कर्मचारीको अभाव रहेको छ । कर्मचारीको अभाव हुँदा सेवाग्राहीले सहजै सेवा पाउन सकिरहेका छैनन् ।

जिल्लास्थित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, कृषि ज्ञान केन्द्र र भेटेरेनरी अस्पताल पशु सेवा विज्ञ केन्द्रमा कर्मचारीको अभाव हुँदा सेवा प्रवाहमा समस्या भएको हो । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय डडेल्धुरामा १३ कर्मचारीको दरबन्दी रहेकामा हाल नौ मात्रै छन् । डडेल्धुरा र बझाङ जिल्ला कार्यक्षेत्र रहेको यस कार्यालयमा कर्मचारी अभाव हुँदा सेवा प्रवाहमा समस्या भएको सो कार्यालय प्रमुुख रविन श्रेष्ठले बताउनुभयो ।

कृषि ज्ञान केन्द्रमा पनि १७ कर्मचारीको दरबन्दी छ तर हाल पाँच अधिकृत रिक्त छ । अधिकृतस्तरका कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या भइरहेको कृषि ज्ञान केन्द्र डडेलधुराका वरिष्ठ कृषि विकास अधिकृत दिलबहादुर विष्टले बताउनुभयो । डडेल्धुरा र डोटी जिल्ला कार्यक्षेत्र रहेको यस कार्यालयमा दरबन्दीअनुसारका अधिकृतस्तरका कर्मचारी नहुँदा सेवाग्राहीले समयमै सेवा पाउन सकेका छैनन् ।

भेटेरेनरी अस्पताल पशु सेवा विज्ञ केन्द्र डडेल्धुरामा पनि दरबन्दीअनुसारका कर्मचारी छैनन् भने दुई जिल्ला कार्यक्षेत्र भएकाले दरबन्दीअनुसारका कर्मचारी नभएको सो कार्यालयका प्रमुख खड्क शाहले बताउनुभयो । भेटेरेनरी अस्पताल पशु सेवा विज्ञ केन्द्र कार्यालयमा हाल १२ जनाको दरबन्दी छ, जसमा हाल नौ कर्मचारी मात्रै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?