अयोध्याबाट आइपुगे जन्ती : राष्ट्रपति भण्डारी जनकपुरमा

काठमाडौं । भारतको अयोध्याबाट विवाह पञ्चमी महोत्सवका लागी जनकपुर आएका जन्तीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गर्ने हुनुभएको छ ।

रंगभूमि मैदानमा मध्याह्न स्वागत तथा सम्बोधन गर्नका लागी राष्ट्रपति भण्डारी आज जनकपुर जाने कार्यक्रम रहेको छ ।

राष्ट्रपति भण्डारीको जनकपुर आगमन हुने भएपछि त्यहाँ सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ । कार्यक्रमलाइ स्वागत गर्नुअघि राष्ट्रपति भण्डारीले जनकपुरको जानकी मन्दिरमा उनले पूजापाठ गर्ने कार्यक्रम रहेको छ ।

त्रेता युगमा जनकपुरका राजा जनककी छोरी सीता र अयोध्याका राजा दशरथका छोरा रामबीच भएको भनिएको बिहेको सम्झनास्वरुप हरेक वर्ष जनकपुरमा रामजानकी विवाह महोत्सव मनाइदै आइएको किंवदन्ती रहेको छ । त्यसैको लागी सप्ताहव्यापी महोत्सव मंगलबारबाट नै शुरु भइसकेको छ ।

महोत्सवको पहिलो दिन जनकपुर नगर दर्शन गरीनेछ, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुषभंग, चौथो दिन मटकोर, पाँचौं दिन तिलकोत्सव, छैठौं दिन वैवाहिक कार्यक्रम तथा सातौं दिन रामकलेवा विधिसाथ महोत्सव सम्पन्न गरिदैँ आएको छ ।

सीताको माइती जनकपुरमा रामको जन्ती अयोध्याबाट बुधबार साँझ महोत्तरीको नाका हुँदै नेपाल प्रवेश गरेका थिए । त्रेता युगमा जोडिएको ऐतिहासिक वैवाहिक सम्बन्धलाई भव्यताका साथ निरन्तरता दिन रामको जन्ती मिथिलानगरी आइपुगेको हो । हिन्दु धर्मग्रन्थ रामायणमा उल्लेख भए अनुसार त्रेता युगमा अयोध्यानरेश दशरथका छोरा राम र मिथिलानरेश जनककी छोरी सीताको विवाह भएको थियो । उक्त विवाह समारोह रामकलेवा विधि सम्पन्न भएपछि उनीहरुलाई बस्त्र आभूषणसहित बिदाई गरिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?