सामुदायिक क्याम्पस गाभिने : मन्त्री घिमिरे

काठमाडौं । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले कमजोर आर्थिक अवस्थाका सामुदायिक क्याम्पसलाई एक आपसमा (मर्ज) गाभिने बताउनुभएको छ । ‘मर्ज’ भएका क्याम्पसको सञ्चालनमा प्रदेश सरकारले सघाउने उहाँले जानकारी दिनुभएको छ।

प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरेले झापाको मेचीनगरस्थित काँकडभिट्टा बहुमुखी क्याम्पसको दोस्रो क्याम्पससभामा आज बिहान उच्च शिक्षामा सरकारले लगानी बढाउने बताउनुभयो ।

प्रदेशका एक सय जति सामुदायिक क्याम्पसमध्ये आर्थिक स्रोत र विद्यार्थी अभावका कारण कतिपय बन्द हुने अवस्थामा पुगेको जनाउँदै मन्त्री घिमिरेले ती क्याम्पसहरुलाई बन्द हुन नदिन प्रदेश सरकारले ‘मर्ज’को नीति लिएको बताउनुभएको हो ।

प्रदेश सरकारले शिक्षा क्षेत्रमा आमूल परिवर्तन ल्याउन दुई सय विद्यालयमा डिजिटल प्रविधिमार्फत पठनपाठन शुरु गरेको, मनमोहन विश्वविद्यालय स्थापना गरेको, डिजिटल साक्षरता कक्षा सञ्चालन गर्न लागेको र सक्षम क्याम्पसलाई विश्वविद्यालयमा रुपान्तरण गर्ने नीति लिएको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा स्नातक तहसम्म पठनपाठन भइरहेको काँकडभिट्टा बहुमुखी क्याम्पसमा भवन र कलेजबसलगायतका भौतिक साधनको अभाव भएको क्याम्पसका अध्यक्ष कमल थापाले बताउनुभएको थियो । मन्त्री घिमिरेले क्याम्पसलाई प्रदेश सरकारका तर्फबाट तत्काल रु ३० लाख रुपैँया सहयोग प्रदान गरिने घोषणा गर्नुभएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?