महिला भलिबल खेलाडीलाई ३ लाख नगदसहित सम्मान

काठमाडौं । सरकारले राष्ट्रिय महिला भलिबल टिमका खेलाडीलाई जनही ३ लाख नगदसहित सम्मान गरेको छ ।

बंगलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको उपाधि विजेता राष्ट्रिय महिला भलिबल टिमलाई मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी सरकारले नगदसहित सम्मान गरेको हो । कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले खेलाडीहरुलाई जनही ३ लाख नगद प्रदान गर्नु भएको थियो भने युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले सम्मानपत्र प्रदान गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै युवा तथा खेलकुदमन्त्री विश्वकर्माले सो टोलीले १३ आंै दक्षिण एशीयाली खेलकुद प्रतियोगितामा पनि स्वर्ण पदक जितेर नेपालको खेल क्षेत्रको सानलाई अझै माथि उठाउने विश्वास व्यक्त गर्नु भयो । उहाँले मुलुकको प्रतिष्ठा र गरिमालाई उचाईमा पु-याउने गरी नेपाली खेलाडीहरुले साग प्रतियोगिताको तयारी गरिरहेको पनि बताउनुभयो ।

सरकारले बंगलादेशमा ऐतिहासिक उपाधि जिते लगत्तै नेपाली महिला टिमलाई जनही ३ लाखका दरले पुरस्कृत गर्ने घोषणा गरेको थियो । गत कात्तिक २८ गते भएको फाईनलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराउँदै नेपालले पहिलो ऐतिहासिक अन्तराष्ट्रिय उपाधि जितेको थियो । महिला भलिबल टिमले जितेको यो उपाधि नेपालको पहिलो अन्तराष्ट्रिय उपाधि हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?