सरकारले निर्वाचन आचारसंहिता विपरितका गतिविधि गरेको काँग्रेसको आरोप

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले निर्वाचन आचारसंहिता विपरितका गतिविधि नगर्न सरकारलाई सचेत गराएको छ ।

नेपाली काँग्रेस उपनिर्वाचन अनुगमन समितिले बिहीबार पार्टी केन्द्रिय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी निर्वाचन आचारसंहिता विपरितका गतिविधि नगर्न सरकारलाई सचेत गराएको हो ।

उपनिर्वाचन हुने जिल्लाहरुमा निर्वाचन आचारसंहिता विपरितका गतिविधिलाई निरन्तरता दिएकाले त्यसो नगर्न सरकारलाई सचेत गराउनु परेको सो समितिका संयोजक एवम् काँग्रेस नेता रमेश लेखकले जानकारी दिनुभयो । काँग्रेसले सो उपनिर्वाचनलाई प्रभावित पार्ने खालका गतिविधिमा रोक लगाउन निर्वाचन आयोगको पनि गम्भिर ध्यानाकर्षण पनि गराएको छ । मतदातालाई प्रभावित पार्नेगरी कम्मल बाँडने, डोजर चलाउने लगायतका काम सरकार र सत्तारुढ दल नेकपाका सांसदहरुले गरिरहेकाले त्यसमा रोक लगाउन निर्वाचन आयोगको पनि गम्भिर ध्यानाकर्षण गराउनु परेको संयोजक लेखकले बताउनु भयो ।

नेपाली काँग्रेसले संवैधानिक परिषद ऐन अध्यादेशमार्फत् ल्याउने सरकारको तयारीप्रति पनि आपत्ति जनाएको छ । काँग्रेस नेता लेखकले सामान्य बहुमतको आधारमा पनि संवैधानिक परिषदले निर्णय गर्ने गरी सो ऐन अध्यादेशमार्फत ल्याउने तयारी सरकारले गरिरहेको उल्लेख गर्दै त्यसप्रति आपत्ति जनाउनुभयो ।

नेता लेखकले संविधान विपरित संवैधानिक परिषदको ऐन अध्यादेशमार्फत ल्याउने काम नगर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?