चलचित्र ‘शुभ लभ’ युरोप टुरमा लैजाने

काठमाडौं। बुद्ध ईन्टरटेनमेन्टको ब्यानरमा निर्माणमा भएको चलचित्र ‘शुभ लभ’ युरोप टुरमा लगिने भएको छ । चलचित्र यही नोभम्बर अन्तिममा अल युरोप प्रदर्शनमा लगिने निर्माण पक्षले जनाएको छ ।

आगामी डिसेम्बर, जनवरी र फेब्रुअरीभरि युरोपभरि प्रदर्शन गरिने निर्माता तथा निर्देशक सन्तोष लोहनीले जानकारी दिए । नेपालमा मध्यम व्यापार गरेको उक्त चलचित्रले युरोप प्रदर्शन राम्रो हुने विश्वास निर्माण पक्षको छ ।

युवा ज्योतिष हरिहर अधिकारी र २०१७ की मिस टिन क्रिस्टिन पौडेलको मुख्य अभिनय रहेको उक्त चलचित्रमा पूराना कलाकारहरु रविन्द्र झा, राजाराम पौडेल, अनोज पाण्डे र सरोज खनालको पनि भूमिका छ ।

त्यस्तै, स्टेजका चर्चित कलाकार राजा राजेन्द्रले पनि चलचत्रिमा पहिलोपटक यही फिल्ममार्फत चलचित्र अभिनय सुरु गरेका हुन् । चलचित्रमा डा. सूर्या थापालाई सह–नायिकाको भूमिका देख्न सकिनेछ ।

अर्जुन पोखरेलको शब्द तथा संगीत र निशान भट्टराईको स्वर रहेको चलचित्रको टाईटल गीत ‘तिमी हुन्छौं भने मेरो शुभलभ’ गीत अत्यधिक रुचाईएको थियो । चलचित्रमा अभिमन्यु निरवीको पटकथा, रामेश्वर कार्कीको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, रोशन विक्रम भट्टराईको द्वन्द्व, अनुपम शाहको भिएफएक्स, ब्याकग्राउण्ड म्युजिक दिनेश सुनामको र बनिश शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।
धर्मराज शर्मा सुवेदी निर्माता रहेको चलचित्रको छायांकन नेपालका हिमाल, पहाड र तराईका प्रायः रमणीय ठाउँहरुमा गरिएको थियो । चलचित्रको युरोप टुरसँगै नेपालको भिजिट नेपाल–२०२० को प्रचारप्रसार गर्नेपनि आफूहरुको उद्देश्य रहेको लोहनीले बताए ।
लोहनी यही नोभेम्बर २७ तारिख युरोप टुरमा जाँदैछन् । युरोप टुर सकिएलगत्तै अष्ट्रेलिया, कोरिया, जापान, हङकङ र गल्फ राष्ट्रमा जाने तयारी रहेको लोहनीले जनाए । चलचित्रको प्रस्तुतकर्ता प्रदीप उदय हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?