ज्यानमारा ‘भेपिङ’, डाक्टर भन्छन्, ‘युवा बढी जोखिममा, प्रतिबन्ध लगाउनैपर्छ’

अमेरिकामा ३९ को मृत्यु, भारतले लगायो प्रतिबन्ध

बोर्ड परीक्षाको अघिल्लो रात इवान फिसरलाई आइसियूमा भर्ना गरियो । निद्रामै सास फेर्न गाह्रो भएपछि उनलाई तत्कालै अस्पताल कुदाइएको थियो । भेन्टिलेटरमा राख्दासमेत इवानको अवस्थामा सुधार नदेखिएपछि उनलाई इक्मोे (इसिएमओ) मेसिनको सहायताले कृत्रिम सास फेराइयो । त्यस मेसिनले इवानको रगत तान्ने, त्यसमा भएको कार्बन डायक्साइडलाई हटाएर अक्सिजन राख्दिने र पुनः इवानकै शरीरमा लैजाने गथ्र्यो । अन्ततः इवान बाँचे ।

यो घटना सन् २०१७ को हो । अझैपनि उनी पूर्ण रुपमा ठीक भइसकेका छैनन् । इवान आफ्नै खुट्टामा उभिनसक्ने भएको ६ महिनामात्र भयो ।

इवान भन्छन्, ‘भेपिङले झण्डै मेरो ज्यान लियो ।’

(तस्वीर : बिबिसीबाट साभार)

इवानले सन् २०१७ तिरै ‘भेपिङ’ शुरु गरिसकेका थिए । त्यसताका उनी १६ वर्षका थिए । चुरोट तान्ने बानीबाट छुटकारा पाउनका लागि उनले भेपिङ शुरु गरेको बताउँछन् । उमेरका हिसाबले भलै उनी यी दुवै क्रियाकलापका लागि योग्य थिएनन् तर, उनका अनुसार बजारमा चुरोट र भेप सर्वत्र र सजिलै किन्न पाइन्थ्यो ।

चुरोट, खैनीजस्ता अन्य सुर्तीजन्य पदार्थभन्दा ९५ प्रतिशतले सुरक्षित हुने भनिएकाले प्राय देशहरुमा ‘भेपिङ’लाई चुरोटको विकल्पमा लिन सुझाव दिइन्छ । बेलायतमा त यसको प्रचारका लागि विज्ञापनहरु पनि बनाइएको छ । तर, भेपिङकै कारण अमेरिकामा मात्रै ३९ जनाको ज्यान गइसकेको र २ हजार ५१ जनाको फोक्सोमा समस्या आएको तथ्याङ्क बाहिरिएपछि भने यसको सुरक्षामा प्रश्न चिह्न खडा भएको छ ।

भेपिङले नै इवानलाई त्यो अवस्थामा पु-याएको हो त ?

भलै भेपिङलाई चुरोटभन्दा निकै सुरक्षित छ भन्दै सामान्यीकरण गरिँदै आइएको छ तर, इवानलाई मृत्युको मुखसम्म पु¥याउने मुख्य कारण भेपिङ नै भएको उनका चिकित्सकहरु बताउँछन् ।

इवानले प्रयोग गरेको भेपमा भएको दुई प्रकारको तरल पदार्थलाई परिक्षण गर्दा एउटाले उसको शरीरमा नकारात्मक रासायनिक प्रतिक्रिया देखाएको जसले उसको फोक्सोलाई असर गरेको डाक्टर बताउँछन् ।

सबैलाई उस्तै असर नगरेपनि यसलाई सामान्य रुपमा लिन नमिल्ने र विशेष गरेर युवावर्गमा यसको लत लाग्न नहुने उनीहरु सुझाउँछन् ।

के हो भेप ?

भेप अर्थात् ब्याट्रीबाट सञ्चालित सानो उपकरण र भेपिङ अर्थात् त्यस उपकरणमा राखिएको निकोटिनयुक्त सम्मिश्रणको धुवाँ तान्नु । यसलाई इ–सिग्रेट पनि भनिन्छ ।

सामान्यतया भेपमा हुने तरल पदार्थ(इ–लिक्विड) प्रोपाइलिन ग्लाइकोल, ग्लिसिरिन, निकोटिन, फ्लेभर र अन्य तत्त्वहरुबाट निर्मित हुन्छ । कुनैकुनै इ–लिक्विडमा भने निकोटिन मिसाइएको हुँदैन । यस प्रक्रियामा ‘धुवाँ’को सट्टा ‘बाफ’ तानिने भएकाले चुरोट जति हानिकारक नभएको अनुमान छ ।

अमेरिकामा ३९ को मृत्यु

अमेरिकामा अहिलेसम्म भेपिङकै कारण ३९ जनाको मृत्यु भइसकेको र २ हजार ५१ जनामा यही कारणले स्वास्थ्य समस्या आएको देखिएको छ ।

यता यसको प्रयोगमा भने कुनै कमी आएको छैन ।

अमरिका, बेलायत लगायतका यूरोपियन देशहरुमा भेपको बजार बढी विस्तार भएको देखिन्छ । सन् २०१८ मा मात्रै अमेरिका, बेलायत र फ्रान्समा जम्मा १० अर्ब बराबरको रकम धुवाँरहित सुर्तीजन्य पदार्थ र भेपमा खर्च भएको तथ्याङ्क छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार भेप प्रयोग गर्नेहरुको सङ्ख्या पछिल्ला वर्षमा निकै वृद्धि भएको छ । सन् २०११ म ७० लाख भेप प्रयोगकर्ता थिए भने सन् २०१८ मा त्यो सङ्ख्या बढेर ४ करोड १० लाख पुगेको छ ।

के छ नेपालको अवस्था ?

नेपालमा पनि युवापुस्तामाझ ‘भेपिङ’ निकै लोकप्रिय छ आजभोलि । यहाँ भेपको बजार करिब ४ वर्षअघि शुरु भएको हो । शुरुशुरुमा दिनको २५ देखि ३० हजारसम्म कमाइ हुने भएतापनि आजभालि व्यापार केही घटेको बताउँछन् दि भेप नेपालका सञ्चालक सागर श्रेष्ठ । व्यापार घट्नुको कारण अनुमान गर्दै उनी भन्छन्, शुरुमा नयाँ चीज के रहेछ, कस्तो हुँदो रहेछ भन्ने उत्सुकतामा धेरैले भेप किने तर, पछि सबैले त्यसलाई निरन्तरता दिएनन् ।’

‘फेरि १८ वर्षभन्दा मुनिका किशोरकिशोरीलाई हामी बेच्दैनौं त्यही भएर पनि हो कि,’ उनी थप्छन् ।

के भन्छन् चिकित्सक ?

महाराजगंजस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका श्वासप्रश्वास विभागका चिकित्सक डा.निरज बमका अनुसार हालसम्म भेपिङकै कारण स्वास्थ्य समस्या भएर कुनै पनि बिरामी उनकोमा आएका छैनन् । तर, विशेष गरी युवाहरुले नै यसको प्रयोग गर्ने हुनाले तत्काल कुनै असर नदेखिएपनि पछि उनीहरुको रोग प्रतिरोधात्मक क्षमतामा कमी आउँदै गएपछि यसको असर देखापर्ने उनले बताए ।

चिकित्सकले पनि एउटा निश्चित मापदण्डअनुसार उपचार गर्ने हुनाले भेपिङ र यसले निम्त्याउने स्वास्थ्य समस्याका बारेमा औपचारिक रुपमा रेकोमेन्डेसन आउन जरुरी भएको पनि उनले बताए ।

चुरोट छोड्ने मनसाय भएकाहरुलाई चुरोटको विकल्पमा भेपिङ सुझाइन्छ । तर, चुरोटजस्तो हानिकारक नहुने भनिएकाले भेपिङलाई सामान्यीकरण गरिनु गलत भएको डा.बमको भनाइ छ । ‘चुरोट छुटाउनलाई निकोटिन रिप्लेसमेन्ट थेरपी जस्ता धेरै उपायहरु छन्,’ डा.बम भन्छन्, ‘भेपिङ उपयुक्त उपाय होइन ।’

उनी अगाडि थप्छन्, ‘निकोटिन भएका कुनै पनि चीजको सेवन स्वास्थ्यका लागि हानिकारक नै मानिन्छ, यो त प्रतिवन्धित नै हुनुपर्ने हो ।’

निकोटिनरहित भेपिङ सुरक्षित हुन्छ ?

भेपमा प्रयोग गरिने इ–लिक्विडमा निकोटिन नमिसाइएको पनि हुनसक्छ । तर, यसो भन्दैमा के निकोटिनरहित भेप स्वास्थ्यको लागि हानिकारक हुँदैन ?

एक अमेरिकी पत्रिकाले प्रकाशित गरेको भेपिङसम्बन्धि लेखअनुसार निकोटिन नभएको भेप पनि स्वास्थ्यका लागि खासै लाभदायी हुँदैन । निकोटिनका अतिरिक्त प्रयोग गरिएका अन्य रसायनिक तत्त्वहरुको ‘रियाक्सन’ले पनि फोक्सोमा असर गर्ने सम्भावना हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?