बङ्गलादेशलाई नेपालले दियो १३९ रनको सामान्य लक्ष्य

काठमाडौं । बङ्गलादेशमा जारी एसिसी इमर्जिङ टिम्स एशिया कप क्रिकेट प्रतियोगितामा नेपालले घरेलु टोली बङ्गलादेशलाई १३९ रनको सामान्य लक्ष्य दिएको छ । समूह चरणको अन्तिम खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४४ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै १३८ रनमात्र बनायो ।

नेपालका लागि सोमपाल कामीबाहेक अन्य खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन् । जसमा सोमपालले सर्वाधिक ३८ रनको योगदान दिए । उनले ६३ बलमा ४ चौकासहित ३८ रन बनाएका हुन् ।

त्यस्तै ज्ञानेन्द्र मल्लले २२ रन जोड्दा करण केसीले १८ रन जोडे । कुशल भुर्तेलले १०, करण केसीले १८, आरिफ शेखले ११, पवन सरार्फले नौ, विनोद भण्डारीले आठ, उपकप्तान दीपेन्द्र सिंह एरीले ६ तथा शरद भेषवकरले १ रन जोडे ।

बलिङतर्फ बङ्गलादेशका सैयद मिन्हाजुल आबेदिन र सुमन खानले समान ३÷३ विकेट लिए भने तनवीर सिंह र मेहदी हसनले २÷२ विकेट लिए । अघिल्लो चरण प्रवेशका लागि पनि नेपाललाई बङ्गलादेशविरुद्वको खेलमा जित्नै पर्ने दबाब छ । यसअघि बिहीबार भएको पहिलो खेलमा नेपाल भारतको यू–२३ टोलीसँग ७ विकेटले पराजित भएको थियो ।

यस्तै शनिबार भएको दोस्रो खेलमा नेपालले हङकङलाई ४० रनले पराजित गर्दै सेमिफाइनल प्रवेशको सम्भावनालाई जीवित राखेको थियो । समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । बङ्गलादेश अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?