बिमातर्फ नेपाल लाइफ इन्स्योरेन्सले बुझायो सबैभन्दा बढी आयकर

काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स आर्थिक वर्ष २०७५/७६ मा नेपालमा बिमा व्यवसाय गर्ने कम्पनीमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने कम्पनी बन्न सफल भएको छ ।

आठौं राष्ट्रिय कर दिवस २०७६ को अवसरमा आइतबार काठमाडौंमा आयोजित एक समारोहका बीच अर्थमन्त्री डा. युवराज खतिवडाले कम्पनीलाई सम्मान गरेका छन् ।
खतिवडाले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झालाई सम्मानपत्र प्रदान गरेका हुन् ।

जीवन बिमा कम्पनीहरूमध्ये करिब एक तिहाई बजारहिस्सा ओगटेको यस कम्पनीको चुक्तापूँजी जीवन बीमा क्षेत्रकै सर्वाधिक रू. ५ अर्ब ५० करोड रहेको छ भने लगानी रू. ७८ अर्ब ६८ करोड रुपैयाँ रहेको छ । त्यस्तै, कम्पनीको जीवन बीमा कोष ७२ अर्ब ३३ करोड रुपैयाँ र शेयरधनी कोष ८ अर्ब ५७ करोडभन्दा बढी रहेको छ ।

कम्पनीले यस आर्थिक वर्षको पहिलो चार महिनामा जम्मा रू. ९ अर्ब ६२ करोड बीमा शुल्क संकलन गरेको छ । १ लाख ३५ हजार ६ सय १० प्रशिक्षित अभिकर्ता रहेको यस कम्पनीले आफ्ना सेवाग्राहीहरू तथा ग्राहकहरूका लागि हालसम्म देशभर फैलिएका १ सय ९४ शाखा तथा उप शाखाहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ ।

हालसम्म स्वदेश र विदेश गरी २६ लाख ६९ हजार ८ सय ८६ व्यक्ति यस कम्पनीमा बीमित भइसकेका छन् ।

सम्मानित भएपछि नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत झाले नेपालको बिमा व्यवसायमा सबैभन्दा अगाडि बढ्दै सबैभन्दा बढी राजस्व दाखिला गरी सम्मानित हुने अवसर पाएकोमा अत्यन्तै खुशी तथा गौरव महसुस भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?