कसरी बच्ने फोक्सो सम्बन्धि रोगबाट ? डाक्टर भन्छन्,‘काठमाडौं बढी जोखिममा’

‘यहाँ सास फेर्नु भनेको चुरोट सेवन गर्नु बराबर हो’

देशका अधिकांश क्षेत्रमा चिसो बढेको छ । यस मौसममा फोक्सोसम्बन्धि रोगको जोखिम बढी हुन्छ । जाडो याममा छिट्टै श्वासप्रश्वासको समस्या र छातीमा संक्रमण हुने भएकाले निमोनिया, दम आदिजस्ता रोगले आक्रमण गर्ने सम्भावना बढी हुन्छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको पल्मोनोलोजी एवं क्रिटिकल केयर मेडिसिन विभागका सह प्राध्यापक डा.निरज बमका अनुसार शिक्षण अस्पताल नेपालमै सबैभन्दा बढी शैंया भएको अस्पताल हो र यहाँ भर्ना हुने बिरामीमध्ये सबैभन्दा बढी बिरामीहरु दम या फोक्सोका रोगी छन् । यसै त प्रदूषणले दपेटेको काठमाडौंमा झन् चिसो बढ्दै गएको हुनाले निमोनिया, दम लगायत फोक्सोसम्बन्धि रोगका बारेमा सबैजना सतर्क हुनु आवश्यक भएको उनी बताउँछन् ।

के हो निमोनिया ?

निमोनिया फोक्सोको संक्रमणबाट हुने रोग हो । यो रुघाखोकी बिग्रेर हुन्छ ।

श्वासप्रश्वासको माध्यमबाट शरीरभित्र पस्ने ब्याक्टेरिया, भाइरस, फंगस गरी विशेष तीन जीवाणुले फोक्सोमा संक्रमण गर्छ जसकारण खोकी लाग्ने, ज्वरो आउने, छाती दुख्ने, घ्यारघ्यार हुने जस्ता समस्या देखापर्छन् ।

‘हाम्रो फोक्सोको अन्तिम बिन्दूमा हेर्दा अङ्गुरका गुच्छाजस्ता देखिने लाखौं ‘अल्भिओलाइ’हरु हुन्छन् जसमा ती तीन किसिमका जीवाणुहरुले संक्रमण गर्छन्,’ डा.बम भन्छन्, ‘ती गुच्छामा पीप, पानी, रगत भरिन्छ र निमोनिया हुन्छ ।’

उनका अनुसार ५ वर्षभन्दा मुनिका बालबालिका र ५०,६० वर्षमाथिका वृद्धवृद्धाहरुमा यस रोगको जोखिम बढी हुन्छ किनकी उनीहरुमा रोगसँग लड्ने क्षमता कम हुन्छ । ‘विशेष गरी मधुमेह, मृगौलारोग, कुपोषण, एड्स भएका वा मध्यपान, धुम्रपान गर्ने व्यक्तिहरुलाई यसको प्रकोप बढी हुन्छ,’ डा. बम अगाडि थप्छन्,‘किनकी उनीहरुसँग रोग प्रतिरोधात्मक शक्ति कम हुन्छ ।’

यसका अतिरिक्त अत्याधिक चिसो र पौष्टिक आहारको कमीले गर्दा पनि यो रोगबाट संक्रमित हुनसक्ने बताउँछन् उनी ।

के हो दम ?

दमलाई अङ्ग्रेजीमा आस्थमा पनि भनिन्छ । यो श्वासप्रश्वाससँग सम्बन्धित रोग हो । यो रोगबाट ग्रसित हुँदा श्वासप्रश्वासका कोषिकाहरुले एक प्रकारको इन्जाइम उत्पादन गर्दछन् जसले फोक्सोको मांसपेशीहरुलाई खुम्च्याई श्वासप्रश्वास नलीमा वाधा उत्पन्न गराउँछ र सास फेर्न अप्ठेरो महसुस हुन्छ । खोकी लाग्ने, स्वाँ स्वाँ हुने, छाती कस्सिने लगायतका लक्षणले दम भएको संकेत गर्ने डा.बम बताउँछन् ।

वातावरणीय प्रदुषण, धुवाँधुलो, चिसो तथा लामो समयसम्म केही कुराको एलर्जी भइरह्यो भनेपनि व्यक्तिमा दमको जोखिम बढी हुन्छ । घाँटी खसखसाउने, खोकी लाग्ने, हाछ्युँ आउने, नाक, कान, घाँटी चिलाउने, नाक बन्द हुने, पातलो सिगान बग्ने, स्वाँ स्वाँ हुने, सास फेर्न कठिनाइ हुने आदिजस्ता लक्षण देखिएमा तुरुन्तै नजिकैको अस्पताल जाने वा चिकित्सकसँग सल्लाह लिइहाल्ने सुझाव दिन्छन् डा. निरज बम । ‘सामान्य रुघाखोकी हो भन्दै आफ्नो मनखुसीले दबाइ किनेर खाने बानी नराम्रो हो, हेलचेक्राइ गर्नैहुँदैन,’ उनी सुझाउँछन् ।

‘काठमाडौं अझै बढी जोखिममा’

चारैतिर पहाड, डाँडाकाँडा भएकाले काठमाडौंको भूसंरचना कचौराजस्तो छ जसकारण प्रदूषित हावा डाँडा काटेर जान नपाउने र यहीँ जम्मा भएर बस्ने बताउँछन् डा. बम । सफा, सुरक्षित वातावरण हुनलाई विश्व स्वास्थ्य संगठनले तोकेको न्यूनतम आँकडा भन्दा २५ गुना प्रदूषित काठमाडौं ।

‘ईटा भट्टा, थोत्रा सवारी साधन, निर्माण कार्य आदिबाट उत्पादन हुने १० पिएम साइजका धुवाँ धेरै छ काठमाडौंमा,’ उनी भन्छन्, ‘विश्व स्वास्थ्य संगठनअनुसार यहाँ सास फेर्नु भनेको चुरोट सेवान गर्नु बराबर हो ।’ त्यसैले काठमाडौंमा फोक्सोसम्बन्धि रोगको अझै बढी जोखिम छ । फेरि, हिन्दू परम्पराअनुसार बिहानै पूजा गर्नुअघि वृद्धवृद्धाहरु चिसो पानीमै नुहाउँछन् जसले उनीहरुलाई थप जोखिममा पार्छ ।

रसिलो फलफूलले चिसो लागेर फोक्सोमा असर गर्छ ?

डा.बम भन्नुहुन्छ, ‘गर्दैन । यो मौसममा सन्तला, ज्युनार, भोगटे आदिजस्ता रसिला फलहरु फल्छन् । तिनको सेवनले चिसो लाग्ने, फोक्सोमै असर गर्ने भन्ने हुँदैन । हामी त झन् ताजा फलफूल र सागसब्जीको अत्याधिक सेवन गर्नुपर्छ भन्ने सल्लाह दिन्छौं । फ्रिजमा राखेको फलफूलहरु चाहिँ नखाएकै राम्रो । फलफूल मात्र होइन जाडो महिनामा सकेसम्म फ्रिजमा राखिएको केही पनि नखाएकै राम्रो ।

कसरी बच्ने फोक्सोसम्बन्धि रोगबाट ?

त्रि.वि शिक्षण अस्पतालको पल्मोनोलोजी एवं क्रिटिकल केयर मेडिसिन विभागका सह प्राध्यापक डा.निरज बमका अनुसार निमोनिया, दम लगायत फोक्सोसम्बन्धि रोग लाग्न नदिने उपायहरु यसप्रकार छन् :

चिसोबाट बच्ने

मध्यपान, धुम्रपान त्याग्ने

धुवाँधुलोबाट सकेसम्म टाढा रहने

शारीरिक सरसफाइमा ध्यान दिने

खाना खानु अघि साबुनपानीले राम्रोसँग हात धुने

प्रदूषित ठाउँमा बस्नेहरुले मास्कको प्रयोग गर्ने । साधारण मास्कभन्दा एन ९५, एन ९९ नामको मास्कको प्रयोग गर्ने

हाइ प्रोटिन डाइट सेवन गर्ने

फोक्सोका लागि छुट्टै व्यायामहरु छन् त्यसको अभ्यास गर्ने

बालबालिकाका निम्ति सरकारले सुझाएको सबै खोपहरु समयमै दिने

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?