टेलिश्रृङ्खला सक्किगोनिमा सबैलाई रुवाउने यस्तो विषय, २४ घण्टा नबित्दै ११ लाख भ्युज पायो (भिडियोसहित)

काठमाडौँ । प्रशारण सुरु भएको छोटो समयमै कुमार कट्टेल ‘जिग्री’ र अर्जुन घिमिरे ‘पाँडे’ को लेखन तथा निर्देशन रहेको हास्य टेलिश्रृङ्खला सक्किगोनिले हंगामा मच्चाएको छ ।

‘कि इन्टरटेनमेन्ट एण्ड रिसर्च प्रालि’को प्रस्तुतिमा नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको सो टेलिश्रृङ्खलाको नवौँ एपिसोडसम्म आइपुग्दा दर्शकले अत्याधिक रुचाएका हुन् ।

युट्युवमा अपलोड भएको २४ घण्टापनि नबित्दै ११ लाख बढी दर्शक पाउँदा उत्साहित भएको कलाकार अर्जुन घिमिरे पाँडेले प्रतिक्रिया दिए । ओएसआर डिजिटलको युट्युब च्यानलमा बिहीबार राति अपलोड भएकोमा शुक्रबार साँझ सवा ७ बजेसम्म ११ लाख ७५ हजार भन्दा बढीले हेरिसकेका छन् ।

बिहीबारको नवौँ एपिसोड हेरेपछि दर्शकहरुले टेलिश्रृङ्खला निकै मन परेको प्रतिक्रिया दिएका छन् । मनोज भाइ नाम गरेका एक दर्शकले ‘आजको एपिसोडले भावुक बनायो । सलाम छ सक्किगोनि सम्पूर्ण टीमलाई’ भनेका छन् । यस्तै मनिषा कँडेलले ‘अरु बेलाको भन्दा पनि आजको एसिसोड साह्रै मन पर्यो, अर्को भाग पनि यस्तै ल्याउनु होला ल’ भनेकी छिन् ।

बिहीबारको एपिसोडमा भारतले नेपालको सीमाना मिचेको विषयलाई मार्मिक रुपमा उठाइएको थियो । जसमा देशभक्त नेपालीले सीमा रक्षाका लागि भारतीय सीमा सुरक्षा बलसँग मुकाबिला गर्दैगर्दा भारतीय पक्षबाट गोली चलाइन्छ ।

भारतीय सीमा सुरक्षा बलमा एक गोरखा सैनिक पनि हुन्छन् । सो क्रममा भारतीय पक्षबाट चलाएको गोली नेपालीलाई लाग्न नदिइ उनले आफ्नो छाती थाप्छन् र उनको मृत्यु हुन्छ ।

‘जहाँसुकै बसेपनि आखिर नेपाली नेपाली नै हुन्छ दाइ, जेमा भर्ति भएपनि यो देशलाई दुख्दा हामी सबैको मन रुन्छ, त्यसैले मरेर हार्यो भन्ने नसम्झनु होला । वीर गोरखालीको सन्तान हो । कुनै पनि हालतमा एक इन्च सीमा पनि मिच्न नदिनु होला’, मर्नेबेलामा उनले यसो भन्दै गर्ला श्रृङ्खला निकै भावुक रुपमा अन्त्य हुन्छ ।

तर देशभक्त नेपालीले सीमाबारे यतिधेरै चासो दिँदा नेताहरु भने मौन बसेको विषयलाई कडा कटाक्ष गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?