अन्तर्राष्ट्रिय सीमा सुरक्षाका लागि नेपाली सेनाकाे निर्देशनालय गठन, यस्तो छ जिम्मेवारी

काठमाडौँ । नेपाली सेनाले सीमा सुरक्षा समन्वय र सूचना सङ्कलन निर्देशनालय निमार्ण गरेको छ । गत वर्षको रक्षामन्त्रीस्तरीय निर्णयका आधारमा सहायक रथीको नेतृत्वमा सर्भे तथा सीमा अनुगमन निर्देशनालय गठन गरिएको नेपाली सेनाले बताएको छ ।

भारतले सार्वजनिक गरेको नयाँ नक्सामा नेपाली भूभाग कालापानीलाई भारतमा राखेपछि उत्पन्न परिस्थितिबीच सेनाले तीन महिनाअघि आफ्नो सीमा अनुगमन संयन्त्र गठन गरिएको जनाएको छ । अहिले नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षाको जिम्मेवारी सशस्त्र प्रहरीलाई दिएको छ ।

अघिल्लो साल फाल्गुनमा रक्षामन्त्री ईश्वर पोखरेलको तहबाट भएको निर्णयमा राष्ट्रिय सुरक्षासम्बन्धी दुइपक्षीय र अन्तर्राष्ट्रिय सन्धि, सम्झौता, नक्सा एवम् अन्य महत्वपूर्ण दस्तावेजहरूको संरक्षण तथा अनुसन्धानलाई प्रवर्धन गर्न अनुसन्धान केन्द्र बनाउन नेपाली सेनालाई निर्देशन दिइएको थियो।

त्यसकै आधारमा गत चैत्रमा रक्षा मन्त्रालयले नेपाली सेनालाई पत्राचार गरेको थियो जसलाई टेकेर हालै सीमाको सर्भे र अनुगमनको जिम्मेवारी दिएर निर्देशनालयलाई सञ्चालनमा ल्याइएको सेनाको भनाइ छ।सहायक रथीको नेतृत्वमा रहने उक्त निकायको दरबन्दी र जिम्मेवारी सहितका विषयमा मन्त्रिपरिषद्ले निर्णय गर्न भने बाँकी रहेको छ ।

निर्देशनालयलाई दिइएको जिम्मेवारी :

नेपालको अन्तर्राष्ट्रिय सीमा सम्बन्धी सेनाको मुख्य केन्द्रका रूपमा विकास गर्ने,

सीमासम्बन्धी अध्ययन, अनुगमन र नियमन गर्न गठन हुने उच्चस्तरीय संयन्त्रमा सेनाको प्रतिनिधित्व गर्ने,

केन्द्रीयस्तरमा गृह, परराष्ट्र, कानुन मन्त्रालय तथा नापी विभागसँग नियमित समन्वय गर्ने,

सन्धि, सम्झौता तथा सीमानसँग सम्बन्धित नक्सा तथा अति संवेदनशील कागजपत्रको अभिलेखिकरण र संरक्षण गर्ने, र

विभिन्न विज्ञ तथा निकायसँग भएका महत्वपूर्ण दस्तावेज र अनुसन्धानपत्र पनि सुरक्षित राख्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?