नेपालले भारतलाई जितका लागि १९४ रनको लक्ष्य दियो

काठमाडौं । बङ्गलादेशमा जारी एसीसी इमर्जिङ टिम्स एशिया कप क्रिकेटमा नेपालले भारतलाई १९४ रनको मध्यम लक्ष्य दिएको छ । ढाकास्थित कृरा शिक्खा मैदानमा आज भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल ४४ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै १९३ रनमा समेटियो ।

नेपालका लागि पाँचौ नम्बरमा ब्याटिङ गर्न आएका पवन सर्राफले सर्वाधिक ५६ रनको योगदान दिए । उनन्चास बल खेलेका उनले दुई छक्का र सात चौका प्रहार गरे । त्यस्तै नेपालले पहिलो ओभरको दोस्रो बलमै कप्तान ज्ञानेन्द्र मल्ललाई शून्य रनमा गुमाएको थियो तर नेपालका लागि शरद भेषवाकर र कुशल भुर्तेलले दोस्रो विकेटका लागि ५४ रनको साझेदारी गरे ।
शरदले व्यक्तिगत ४४ रन जोड्दा कुशल २८ रनमा आउट भए । दीपेन्द्र सिंह ऐरी २४, करण केसी २०, विनोद भण्डारी पाँच तथा सोमपाल कामी र आरिफ शेख समान दुई÷दुई रनमा बाहिरिए । त्यसैगरी ललितनारायण राजवंशी शून्य रनमा आउट हँुदा सुुशन भारीले दुई रन जोडे ।
भारतका सौरभ दुबे एक्लैले चार विकेट लिए भने एस राठोडले तीन तथा पर्थ रेखाडेले दुई विकेट झारे । भारत अहिले जवाफी ब्याटिङमा उत्रेको छ । प्रतियोगितामा नेपाल समूह बी मा परेको छ । नेपालको समूहमा बङ्गलादेश, भारत र हङकङ छन् ।त्यस्तै समूह ‘ए’मा श्रीलङ्का, पाकिस्तान, अफगानिस्तान र ओमान रहेका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?