उत्पादनशील क्षेत्रमा बैंकले लगानी गर्न सकेन

काठमाडौं । रुपन्देहीको सैनामैनामा रहेका उद्योगी तथा व्यवसायीले उत्पादनशील क्षेत्रमा बैंकले लगानी गर्न नसकेको बताएका छन् । आज सैनामैनामा उद्योग वाणिज्य सङ्घको पाँचौँ साधरणसभामा उनीहरुले बैंकको चर्को र अस्थिर ब्याजदरका कारण उद्योगी तथा व्यवसायी धरासायी हुने अवस्थामा पुगेको बताए ।

सो अवसरमा प्रदेश नं ५ को उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले सैनामैनामा रहेको अव्यवस्थित बसोबासले केही समस्या भएको उल्लेख गर्दै एकीकृत जग्गा प्रणालीमा गएर आधुनिक बस्ती बसाल्न आग्रह गर्नुभयो ।

उहाँले सैनामैना बुद्धकालीन सभ्यतासँग जोडिएको नगर भएकाले तिब्बतसँग जोडिएको प्रमुख नाकाका रूपमा उद्योगी, व्यवसायीको उत्पादनलाई प्रतिस्पर्धी बनाउन आवश्यक भएको बताउनुभयो ।

सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले सहकारीसँग भएको पूँजीलाई उद्योगधन्दामा परिचालन गर्न आवश्यक भएकामा जोड दिँदै यस क्षेत्रको विकासका लागि लगानी गर्न आग्रह गर्नुभयो ।

सैनामैना उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजबहादुर क्षेत्रीले औद्यगिक क्षेत्र बनाउन नगरपालिकासँग समन्वय गर्दै सैनामैनालाई उद्योग, वाणिज्य र कृषि केन्द्रको रूपमा स्थापित गरिने बताउनुभयो ।

दुई पत्रकार सम्मानित

कार्यक्रममा रेडियो सैनामैनाका समाचार प्रमुख ललित पाण्डेय र रेडियो मलमलाका समाचार प्रमुख विष्णु खत्रीलाई पत्रकारितामा योगदान गरेको भन्दै सम्मानित गरिएको छ ।

उद्योग वाणिज्य सङ्घ सैनामैनाले स्थापना गरेको रु। ५० हजार रकमको पत्रकारिता अक्षयकोषबाट उनीहरुलाई सम्मान गरिएको हो । कृषि, उद्योग, पर्यटन र वन क्षेत्रमा उल्लेखनीय योगदान गरेको भन्दै मन्त्री गिरीले पत्रकारद्वय पाण्डे र खत्रीलाई सम्मान गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?