दैनिक कति पानी पिउने र कसरी पिउने ? यस्ता छन् जान्नैपर्ने कुरा

काठमाडौं । पानी मानव शरीरको अत्यावश्यक पदार्थ हो । मानव शरीरमा पानीको कमीले धेरै स्वास्थ्य समस्या देखिन्छन् ।

शरीरमा पानीको कमी हुँदा छाला सुक्खा हुने, एलर्जी र छाला रातो हुनेजस्ता समस्या देखा पर्न सक्छन् । साथै, अनुहारमा दाग आउने समस्या पनि हुन्छ ।

पानीको आवश्यक मात्रा पूर्ति गर्न दैनिक पर्याप्त पानी पिउन जरुरी छ । तर कति पिउने ? कति बेला र कसरी पिउने? यो हामी सबैको मनमा उब्जने प्रश्न हो ।

पानी कति पिउने?
एक दिनमा कति पनि पिउनुपर्छ भन्नेबारेमा मानिसहरूमा अनेक धारणा पाइन्छन् । पानी पिउने स्वस्थ बानीका बारेमा अनेक हल्ला पनि चलेका हुन्छन् । तिर्खा नलागे पनि समयतालिका बनाएर नियमित रूपमा पानी पिउनुपर्छ भन्नेहरू पनि छन् । समयतालिका बनाएर भन्दा पनि शरीरको आवश्यकताअनुसार स्वस्थ रहने गरी पानी पिउनुपर्छ ।

शरीरले आफ्नो क्रियाहरु गर्दा पानीकोे प्रयोग गर्नुको साथै शरीरलाई राम्रो परिस्थितिमा राख्न विभिन्न अङ्गहरूबाट केही मात्रामा पानी शरीर बाहिर निस्कासन गर्दछ ।

शरीरमा पानीको सन्तुलन बनाइराख्न जति मात्रामा पानी शरीर बाहिर जान्छ त्यति मात्रामा स्वच्छ पानी पिउनु अति आवश्यक पर्दछ । मानिसले दैनिक २.३ लिटर पानी पिउँनै पर्दछ । कामको प्रकृति अनुसार अतिरिक्त पानीको सेवन गर्नु पर्दछ । जाडो याममा ३ लिटर र गर्मी याममा ४ लिटरसम्म पानी पिउन सकिन्छ ।

कति बेला, कसरी पिउने?

बिहान खाली पेटमा मनतातो पानी पिउनु हाम्रो शरीरका लागि आवश्यक हुन्छ ।

सफा र स्वच्छ पानी पिउनु पर्दछ ।
अत्यधिक चिसो र अत्यधिक तातो पानी कहिल्यै पनि पिउनु हुँदैन।
पानी सँधै बसेर चुस्की लिँदै पिउनु पर्दछ।

एकै चोटि अत्यधिक पानीको सेवन गर्नु हुँदैन । १ घण्टामा १ गिलासको (२५० मि.लि) दरले पानी पिउन सकिन्छ।

दिनको ३–४ लिटर पानी पिउनु पर्छ । नियमित रूपमा पानी पिउने बानी बसाल्नु पर्छ।

खानासँग पानीको सेवन गर्नु हुँदैन । खानासँग पानी पिउनाले पाचनक्रिया सुस्त हुन्छ र खाना राम्रोसँग पच्दैन । खाना खानुभन्दा १÷२ घण्टा अगाडि र खाएको १ घण्टा पछि मात्र पानी पिउनु पर्छ ।
तातो पानी अधिक पिउनाले पाचनतन्त्र कमजोर हुन्छ र खाना राम्रोसित पच्दैन ।

थाकेको अवस्थामा र धेरै पसिना आएको अवस्थामा चिसो पानी धेरै पिउनु हुँदैन । धेरै पसिना आउँदा पसिनाको माध्यमबाट शरीरको ताप बाहिर गइरहेने भएकोले चिसो पानी पिउँदा शरीरको तापक्रम घट्नगई प्रतिकूल असर पर्न सक्छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?