भारत तथा चीनका मुख्य नाकामा विषादी परिक्षण प्रयोगशाला राखिने

काठमाडौं । भारत तथा चीनबाट  आयात हुने तरकारी तथा फलफूलकाे विषादी परिक्षण गर्नको लागी सरकारले मुख्य नाकाहरुमा प्रयोगशाला राख्ने भएको छ ।

चार महिनाअघि सरकारले भारतबाट आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षण गरेर मात्रै ल्याउन दिने निर्णय गरेको थियो।

त्यसलगत्तै १ साता भारतबाट तरकारी आउन ठप्प भएको थियो। भारतीय दूतावासको दबाबमा सरकारले आयात खुला गर्दै भन्सार नाकामै प्रयोगशाला राख्ने तयारी गरेको हो।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले देशका १२ स्थानमा प्रयोगशाला राख्ने तयारी गरेको हो।

भारतबाट वीरगंज, काकडभिट्टा, भैरहवा, विराटनगर, तातोपानी, केरुङलगायत मुख्य भन्सारमा विषादी परीक्षण गर्ने प्रयोगशाला राखिने विभागले जनाएको छ ।

देशभर अहिले ८ स्थानमा विषादी परीक्षण प्रयोगशाला रहेका छन् । काठमाडौंको कलंकी, सर्लाहीको नवलपुर, झापाको बिर्तामोड, बाँकेको नेपालगन्जस्थित रानी तलाउ, , कास्कीको पोखरा, रूपन्देहीको बुटवल, अत्तरिया र खाद्य प्रविधिको काठमाडौंमा प्रयोगशाला छन्।

चालु आर्थिक वर्षभित्रै ती स्थानमा जनशक्तिसहित प्रयोगशाला राख्ने तयारी रहेको साथै त्यसका लागि ११ करोड रुपैयाँ बजेट छुट्याइसकिएको विभागकी महानिर्देशक मतिनाजोशी वैद्यले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?