अमेरिकाको ललीपप देखाएर ३ बिहे, दर्जनौं ठगी : नयाँ बिहेको कुरो छिन्न जाँदा युवती यसरी परिन् प्रहरी फन्दामा

काठमाडौं । हरेक दिन देशका होनहार युवाहरु सुन्दर भविष्यको आशमा विदेश पलायन भइरहेका छन् । विदेश गएपछि पैसा कमाइन्छ, जीवन सुध्रिन्छ भन्ने मृगतृष्णा लिएर भौतारिँदा केसम्म हुनसक्छ भन्ने कुराको ज्वलन्त उदाहरण हो यो घटना । एउटा सामान्य महिलाले विवाहको चक्रव्युह रचेर कसरी अमेरिका र कोरियाको प्रलोभनमा २० जनाभन्दा बढी युवालाई फसाइन् भनेर यस घटनाले देखाउँछ ।

घटना १

सिन्धुपाल्चोकका २५ वर्षीय सोभित तामाङ (नाम परिवर्तन)लाई भदौ महिनाको एक रात ‘सोफिया तामाङ’को नामबाट फेसबुकमा फ्रेन्ड रिक्वेस्ट आउँछ । उनी रिक्वेस्ट एक्सेप्ट गर्छन् । ‘हाइ’ पहिलो मेसेज युवतीले ठेल्छिन् । ‘हेलो’ सोभित तुरुन्तै जवाफ फर्काउँछन् । ‘मैले तपाईलाई अस्ती कन्सर्टमा देखेको, राम्रो लागेर मैले लुकेर तपाईका केही तस्वीरहरु पनि खिचेकी थिएँ’ भदौ १३ गते कुशे औंसीको दिन गोकर्णमा आयोजित कन्सर्टको प्रसङ्ग जोड्दै सोफिया आफूले खिचेका तस्वीरहरु सोभितलाई पठाउँछिन् । सोभित त्यस कार्यक्रमका आयोजकमध्ये एक थिए ।

सामान्य औपचारिक कुराकानीबाट शुरु भएको त्यो सम्बन्धले केही दिनमै सोफिया र सोभितको दूरी दूर गर्छ । अब सोभित र सोफिया पढाइ, भविष्य र परिवार लगायत अत्यन्तै व्यक्तिगत विषयमा कुरा ‘सेयर’ गर्न थाल्छन् । कुराकानीकै क्रममा युवतीले आफ्नो थर तामाङ नभएर शाही भएको र आफूलाई ‘तामाङ’ थर मनपर्ने भएर फेसबुकको आइडीमा तामाङ राखेको पनि खुलाउँछिन् ।

युवतीले आफू सानो छँदा बुबा बितेको, पैसा कमाउनलाई आमाले कोरिया जानुपरेको, त्यही क्रममा उतैका व्यक्तिसँग आत्मीयता बढेपछि आमाले विवाह गरेको, आफू कोठा भाडा लिएर एक्लै काठमाडौंमा बस्दै आएको, आफू मेडिकल विद्यार्थी भएको, बुबाको करौडांैको सम्पत्ति ‘फिक्स्ड डिपोजिट’का रुपमा आफ्नो बैंक खातामा रहेको र आफू २० वर्षको नहुन्जेल निकाल्न नमिल्ने लगायत झुठको चाङ थुपार्दै चक्रव्युह रच्छिन् । सोफियाले रचेको ‘ट्राजिक कथा’मा सोभित फस्दै जान्छन् । यस्तैमा सोफिया आफू छिट्टै अमेरिका जाने कुरा सोभितलाई सुनाउँछिन् र उनलाई पनि ‘डिपेन्डेन्ट’ भिसामा आफूसँगै लैजाने प्रस्ताव राख्छिन् ।

सोफियालाई विश्वास गर्न थालिसकेका सोभित ‘अमेरिका’ जाने कुरा सुनेर मख्ख पर्छन् । अन्ततः सोफियाको माया जालमा सोभित फस्छन् र केही दिनमै उनीहरुले ‘फेक म्यारिज’ पनि गर्छन् । अमेरिका जाने प्रक्रिया पूरा गर्न यसो गरौं भनेर सोफियाले नै सुझाएकी हुन् ।

 

यही क्रममा सोफियाले सोभितलाई आफ्नी आमासँग पनि परिचय गराइसकेकी हुन्छिन् ‘फेसबुक’को माध्यमबाट । ‘पेम्बा शेर्पा’ सोफियाकी आमाको फेसबुक आइडी । यस आइडीबाट सोफियाकी आमाले वेलावेला सोभितलाई हालखबर सोध्ने, उनीहरुको विवाहको बारेमा कुरा गर्ने, पैसा पठाउन चाहँदाचाहँदै पनि कहिले स्वास्थ्यमा समस्या आएर त्यसो गर्न नसकेको कहिले व्यस्त भएको कारणहरु देखाउँछिन् ।

‘अमेरिका’को सपना देख्न थालेका सोभितलाई सोफियाकी आमासँग कुराकानी हुनुले झनै ढुक्क बनाउँछ ।

उज्यालो भविष्यको कल्पनामा सोभित यति डुब्छन् कि कहिले अस्पताल जाने बहाना, कहिले बर्थ डे मनाउने त कहिले कलेज फी तिर्ने बहानामा सोफियाले २ लाखभन्दा बढी पैसा लिइसकेकी हुन्छिन् सोभितबाट । त्यस्तै कोरियामा भएकी आमाबाट भिसा पठाइ मागेर सोभितका भाइहरुलाई २ लाखमै कोरिया पु-याइदिन्छु भन्दै उनीहरुबाट पनि ८० हजार रकम लिन्छिन् सोफिया ।

सम्पत्तिको त्यत्रो रवाफ देखाउने सोफियाले सानोतिनो खर्चका लागि आफूसँग पैसा माग्नु, डाक्टर पढ्दै गरेको भनेर मोर्गन इन्टरनेसनल कलेजको पोसाक लगाएर कलेज जानु (जब कि त्यस कलेजमा मेडिकल विषय नै पढाइ हुँदैन), आफ्नो भाइको छोरा भनेर ८, ९ महिना जतिको बच्चालाई ढुक्कै आफूसँग राख्नु आदिजस्ता कुराहरुले विस्तारै सोभितको मनमा आशंका पैदा गरिदिन्छ ।

अझ ट्वीस्ट त त्यो घटनाले लिएर आउँछ जहाँ सोफियाको अपहरण भएको खबर सोभितले पाउँछन् । सोफियालाई क्षतविक्षत अवस्थामा देखेर सुनिल झस्किन्छन् । त्यतिन्जेल प्रहरी आइसकेको हुन्छ । तर, आफूमाथि भएको घटनाका बारेमा सोफिया प्रहरीसँग खुल्दिनन् बरु नानाथरी कुरामा प्रहरीलाई नै अल्मलाइरहन्छिन् । अपहरणमा परेको व्यक्तिले त अपराधीलाई सजाय दिलाउन चाहनुपर्ने, न्यायको माग गर्नुपर्ने तर, सोफियाले त्यसो नगरेपछि सोभितको शंका झनै झाँगिन्छ ।

सोफियालाई विश्वास गर्ने कुनै ठाउँ नदेखेपछि सोभितले उसको विरुद्धमा प्रमाण जुटाउन एउटा जुक्ति निकाल्छन् । आफ्नो फोनमा ‘स्क्रिन रेकर्ड’ अन गरेर सोफियालाई फोन चलाउन छोडिदिन्छन् । सोफियाको फोनमा भएका क्रियाकलाप सबै भिडियोमा कैद भएर अटोमेटिक सेभ हुन्छ ।

कैद भएको भिडियोले सोभितको होसहवास् उडाइदिन्छ । ‘पेम्बा शेर्पा’ नामक आइडी जुन सोफियाले आफ्नो आमाको भनेकी थिइन् त्यो अरु कोही नभएर सोफिया आफै रहिछन् । भिडियोमा उनले आफ्नो आइडी लग आउट गरेर पेम्बा शेर्पा नामक फेक आइडीमा लग इन गर्छिन् र त्यसबाट आफ्नै आइडीमा आफ्नै आमा बनेर मेसेज छोड्ने गरेकी रहिछन् । उनको बहुरुप देखेर सोभित छाँगाबाट खसेझैं हुन्छन् ।

यस्तो घीनलाग्दो षड्यन्त्रमा आफू फसेको चाल पाएपछि सोभित दुखी त हुन्छन् नै तर, त्यो भन्दा बढी उनी त्रसित हुन्छन् । आफ्नो डुबेको पैसा उठाउने चिन्ता भन्दा पनि आफ्नो र परिवारको इज्जतको मजाक बन्छ भन्ने कुराले उनलाई पिरोल्छ र सकेसम्म चाँडै सोफियाबाट छुटकारा पाउने ध्येयले उनी सोफियासँग सम्पर्कमा आउँदैनन् । योबीचमा सोफिया पनि सोभितको सम्पर्कमा आउँदिनन् । किनकी उनले थापेको बल्छीमा सोभित फसिसकेका थिए ।

घटना २

घटना नं २ का पीडित हुन् सिन्धुपाल्चोककै २१ वर्षीया तीर्थ तामाङ (नाम परिवर्तन) । सोभितसँग सम्पर्कविहीन भएपछि सोफियाले तीर्थलाई आफ्नो नयाँ शिकार बनाइन् । संयोग त के भने ती दुवैजनालाई उनले गोकर्णमा आयोजित कन्सर्टकै दिन देखेकी हुन् ।

गायनमा छवि बनाउँदै गरेका तीर्थले त्यस कार्यक्रममा गीत गाएका थिए । सोही गीतको तारिफ गर्दै सोफियाले उनीसँग सम्बन्ध विस्तार गरिन् । तीर्थलाई फसाउन सोफियाले त्यही कथाको प्रयोग गरिन् जुन कथा उनले सोभितलाई फसाउनलाई बुनेकी थिइन् ।

गाउँघरमा आयोजित केही कार्यक्रममा गीत गाएर र सानोतिनो एल्बममा स्वर दिएर भविष्य कोर्न घिस्रिरहेको संघर्षशील कलाकारलाई ‘अमेरिका’नामक ललीपपले नलोभ्याउने कुरै भएन । अझ तीर्थले त आफ्नो गाउँमै गएर दशैँको टिकाको दिन सोफियासँग विधिवत रुपमै विवाहसमेत गरे ।

विवाहपछि उनीहरुको सम्बन्ध खासै सुमधुर भने रहेन । तर, सोफियाले २ लाखमा कोरिया लगिदिने जालो त्यहाँ पनि फाल्न भ्याइन् । जसमा फसे तीर्थका आफ्नै भाइ, ठूलीममीकी छोरी र मामाका छोरा । उनीहरुबाट जम्मा ७ लाख पैसा हात पारिन् सोफियाले । तीर्थलाई भने आफ्नी श्रीमतीप्रति शंका लागिरहेकाले भाइहरुलाई आफ्नै ‘रिस्क’मा पैसा दिनसमेत सतर्क गराएका थिए उनले । तीर्थले आफ्नै श्रीमती उर्फ सोफियामाथि शंका गर्ने धेरै ठाउँहरु भेटिरहेका थिए जसमध्ये ८,९ महिनाको भदालाई आफैसँग गाउँ लग्नु पनि एउटा थियो । गाउँबाट फर्किएपछि पनि उनले ती बच्चालाई आफ्नै फ्ल्याटमा आफैसँग राखिन् ।

यही क्रममा उनले तीर्थलाई एउटा बाइक समेत किनिदिएकी थिइन् जसलाई विभिन्न बहाना बनाएर केही दिनमै बेचिन् र, सबै पैसा लिएर वेपत्ता भइन् । शंका नहोस् भनेर उनले आफ्नो भदालाई त्यहीँ छोडेको हुनसक्छ तर, तीर्थले उनीसँग सम्पर्क गर्न खोज्दा ‘बच्चालाई राख कि फाल कि मार मलाई मतलब छैन’ भन्दै फोन काटिन् । र, सम्पर्कविहीन भइन् ।

***

यी घटनाहरु शायद गुपचुप नै रहन्थे होला यदि सोभित र तीर्थले एकअर्कालाई नचिनेको भए । एउटै गाउँको भएकाले र वेलावेला कार्यक्रम तथा संघसंस्थाको भेलामा देखादेख हुने उनीहरुले आफूहरुलाई एउटै केटीले फसाएको कुरा थाहापाएपछि सोफियाले बुनेको षड्यन्त्रको जालोको पर्दाफाँस भएको हो ।

सोभित र तीर्थ आफू मात्रै नभएर अन्य व्यक्ति पनि सोफियाको शिकार भइसकेको र केही शिकार बन्ने क्रममा रहेको बताउँछन् । जसको प्रमाणस्वरुप उनीहरुले सोफियाले छोडेको ‘मेमोरी कार्ड’मा उनीहरु दुईजनावाहेक विनोद तामाङ (नाम परिवर्तन) नामक अर्को व्यक्तिसँग विवाह गरेको तस्वीर पनि फेला पारेका छन् ।

सोभितले गरेको स्क्रिन रेकर्डिङमा सोफियाले आफ्नो आइडी लग इन गर्दैगर्दा प्रयोग गरेको पासवर्ड प्रष्ट देखिन्छ । जसलाई लग इन गरेर हेर्दा उनी एक युवकलाई उही तरिका अपनाएर आफ्नो चङ्गुलमा फसाइरहेको देखिन्छिन् ।

सोफियाले ‘भदा’ भनेको त्यो बच्चा पनि उनको भदा नभएर आफ्नै सन्तान भएको पत्ता लागेको छ । सोही मेमोरी कार्डमा उनीहरुले त्यो बच्चालाई सोफियाले स्तनपान गराउँदै गरेको तस्वीर पनि भेटाएका छन् ।

अहिले रुपक थिङ तामाङ, अजय तामाङ, श्यामकुमार तामाङ र च्याङ्वा लामा गरी ४ जनाले प्रहरीकोमा सोफिया विरुद्ध ठगी मुद्दा दर्ता गरेका छन् ।

पछिल्लो पटक उसैगरी फेसबुक मार्फत खोटाङका राई थरका एकजना युवकलाई पनि अमेरिका लैजाने प्रलोभन देखाउँदै भेट्न बोलाउँदा प्रहरीले सोफियालाई पक्राउ गर्न सफल भएको महानगरीय प्रहरी वृत बौद्धका प्रमुख डिएसपी रमेश सिंहले जानकारी दिनुभयो ।

महिलासम्बन्धि मुद्दाहरु अत्यन्तै संवेदनशील हुन्छ र महिलाले चाहेमा हातपात गरेको, बलात्कार गरेको, फसाएको भन्दै मुद्दालाई उल्टाइदिन पनि सक्ने भएकाले सोभित र तीर्थ यो विषयमा बोल्न डराइरहेका थिए । उनीहरुको डर केही हदसम्म जायज पनि हो किनकी आजभोलि महिलाहरुले उनीहरुको हकका निमित्त बनाइएका कानूनहरुको कमजोर पक्षलाई समाएर पुरुषहरुलाई फसाइरहेका छन् । यो घटना पनि त्यसैको एक उदाहरण हो ।

फेरि, अमेरिका वा विदेश भन्नासाथ युवाहरु कति अन्धभक्त भएर एकोहोरो लाग्छन्, सामाजिक सञ्जालबाट जोडिएका व्यक्तिसँग कति छिट्टै र कति गहिरो सम्बन्ध विस्तार गर्छन् भन्नेजस्ता मानवीय प्रवृत्ति र वर्तमान समाजमा युवाहरुको मनस्थितिलाई समेत चित्रण गरेको छ यस घटनाले ।

भलै, सोफियालाई प्रहरीले आफ्नो नियन्त्रणमा लिइसकेको छ तर, अझै यस्ता ‘सोफिया’हरु समाजमा छैनन् या निकट भविष्यमा नहोलान् भन्न सकिन्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?