आलमको थुनछेक बहस आज पनि

काठमाडौं । बमकाण्डको आरोपमा पक्राउ परेका सांसद तथा पूर्वमन्त्री आफताब आलमको मुद्दामा आज पनि थुनछेक बहस हुँदैछ । आलम बिरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र बम विस्फोट सम्बन्धी कसुरमा गरी तिनवटा मुद्दा दायर गरिएको छ ।

तीनवटै मुद्दामा बयान सकिएपछि थुनछेक बहस बिहीबारवाट शुरु भएको हो । थुनछेक बहसमा पहिलो दिन सरकारी वकिल खडिन्द्रराज कटुवाल, सह–न्यायाधिवक्ता अर्जुन प्रसाद कोइराला र सूर्यराज दहालले वादीका पक्षमा बहस गरेका थिए ।

बहसमा वादी पक्षका कानून व्यवसायीहरुले प्रतिवादी आलमलाई तिनै वटै मुद्दामा हदै सम्मको कारवाही हुनु पर्ने र हाल पुर्पक्षको लागी थुनामा पठाउनु पर्ने माग गरेका छन । पीडित र आलमका कानुन व्यवसायीको बहस आज हुनेछ ।

दुवै पक्षका कानुन व्यवसायीको बहस सकिएपछि अदालतले थुनामा राख्ने, धरौटीमा छाड्ने वा साधारण तारिखमा छाड्ने भन्ने आदेश दिनेछ ।

जिल्ला सरकारी वकिलको कार्यालयले बम बनाउने क्रममा भएको विष्फोटका घाइतेलाई ज्युँदै इँट्टाभट्टामा हालेर मारेको अभियोगमा सांसद मोहम्मद अफताब आलमसहित ११ जनाविरुद्ध सर्वस्वसहित जन्मकैदको मागदाबी गर्दै सोमबार मुद्दा दायर गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?